काठमाडौँ । राप्रपाले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र अभिभावकीय संस्थाका रुपमा राजसंस्थालाई राख्नुपर्ने प्रस्ताव गरेको छ । प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि सोमबार घोषणापत्र सार्वजनिक गर्दै राप्रपाले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र देशको अभिभावकका रुपमा राजसंस्थालाई राख्नुपर्ने प्रस्ताव गरेको हो ।
यस्तै राप्रपाले प्रदेशलाई खारेज गरेर केन्द्र र बलियो स्थानीय तह भएको दुई तहको शासकीय संरचना हुनुपर्ने पनि प्रस्ताव गरेको छ । यस्तै पूर्ण समानुपातिक संसद हुनुपर्ने राप्रपाको प्रस्ताव छ ।
घोषणापत्र सार्वजनिक गर्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले २०४६ साल पछिका उच्चपदस्थ नेता र कर्मचारीको सम्पत्ति छानविन गरिनुपर्नेमा आफ्नो पार्टीको जोड रहेको बताउनुभयो । उच्चस्तरीय नागरिक अयोग गठन गरी २०४६ पछिका उच्चपदस्थ नेता तथा कर्मचारीको सम्पत्ति छानविन गरी अवैध सम्पत्ति जफत गर्ने कानुनी व्यवस्था गर्ने उहाँले बताउनुभयाे।
एक व्यक्तिले दुई कार्यकालभन्दा धेरै पार्टी अध्यक्ष, प्रधानमन्त्री जस्ता कार्यकारी पदमा बस्न नपाउने, नेपाल बन्द जस्ता कार्यक्रम कहिल्यै नगर्ने राप्रपाको घोषणापत्रमा उल्लेख गरिएको छ ।
घोषणापत्रको पूर्णपाठ
प्रकाशित मिति: सोमबार, कात्तिक १४, २०७९, १२:१९