काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणी गरेको अभियोगमा मुद्दा दर्ता भएको छ । लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौँमा सोमबार अभियोग पत्र दर्ता गराएको जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँका महान्यायाधिवक्ता अच्युतमणि नेउपानेले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी परिसर, काठमाडौँले बुझाएको रायसहितको अनुसन्धान प्रतिवेदनका आधारमा अभियोग पत्र दायर गरिएको उहाँले बताउनुभयो ।
अभियोग पत्रमा मुलुकी अपराध संहिता अनुसार १० देखि १२ वर्षसम्म कैद सजाय माग गरिएको छ । मुलुकी अपराध संहिताको दफा २१९ को उपदफा ३ (घ) मा पीडित १६ वर्ष वा १६ वर्ष भन्दा बढी तर १८ वर्षभन्दा कम उमेरको भए १० देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।
मुद्दामाथी मंगलबारबाट थुनछेक बहस सुरु हुने छ। अदालतले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने वा धराैटीमा रिहा गर्ने निर्णय गर्नेछ ।
त्यही अनुसार अधिकतम सजायको माग दाबी गरिएको उहाँले जानकारी दिनुभयो । लामिछानेले १७ बर्षकी किशोरीलाई बलात्कार गरेको उजुरी परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।
लामिछानेविरुद्ध प्रहरी वृत्त, गौशालामा भदौ २१ गते १७ वर्षकी किशोरीले जबरजस्ती करणी गरेको किटानी जाहेरी दिनुभएको थियो । क्यारेबियन प्रिमियर लिग खेल्न जमैकामा रहेका लामिछाने प्रहरीले इन्टरपोलमार्फत पक्राउ पुर्जी जारी गरेपछि असोज २० गते नेपाल फर्किएका थिए । उनलाई प्रहरीले त्रिभुवन विमानस्थलबाटै पक्राउ गरेको थियो । त्यसयता प्रहरीले पटक पटक म्याद थप गरी अनुसन्धान गरेको थियो । त्यसकै आधारमा अभियोग पत्र दायर गरिएको हो ।
बलात्कारको अभियोग लाग्नासाथ नेपाल क्रिकेट सङ्घ क्यानले लामिछानेलाई राष्ट्रिय टिमको कप्तानबाट निलम्बन गरिसकेको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक १४, २०७९, १४:२८