काठमाडौँ । नेकपा एकीकृत समाजवादी (एस) ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।
एकीकृत समाजवादीका नेताहरूले सोमबार सार्वजनिक गरेको घोषणापत्रमा नेपालको पूर्वदेखि पश्चिमसम्मका सबै नदीलाई आपसमा जोडी ‘पूर्व–पश्चिम मेगा नहर’ बनाई सिँचाइ, कृषि सडक, खानेपानी तथा जलमार्ग र निश्चित स्थानहरूमा पर्यटकीय स्थलहरूको विकास गर्ने गरी राष्ट्रिय गौरवको आयोजना बनाउन पहल गर्ने, विदेशबाट फर्केका युवालाई कृषिमा आकर्षित गर्न १० लाख रुपैयाँसम्म निर्ब्याजी ऋण दिने लगायत उल्लेख गरिएको छ ।
घोषणापत्रमा अहिलेको निर्वाचन प्रणाली अत्यन्त खर्चिलो भएको भन्दै सुधारका लागि पहल गर्ने उल्लेख गरिएको छ । आफ्नो पार्टीले यसपटक कम खर्चिलो चुनाव बनाउने प्रयास गर्ने समेत घोषणा पत्रमा उल्लेख गरिएको छ ।
यसै गरी निरपेक्ष गरिबीको रेखामुनि रहेका नागरिकलाई जलविद्युत् कम्पनीको सेयर धनी बनाउने घोषणा पनि नेकपा एसले गरेको छ । घोषणापत्रमा ‘घरघरमा बिजुली–जनजनमा सेयर’ नीति लागु गर्ने उल्लेख गरिएको हो ।
हरेक परिवारलाई मासिक २०० युनिटसम्म विद्युत् महसुलमा छुट दिने तथा गरिबीको रेखामुनि रहेका परिवारलाई विद्युत् लाइन जडान र बिजुली उपभोगमा सहुलियत दिन पहल गर्ने घोषणा पनि नेकपा एसले गरेको छ ।
घोषणापत्रको पूर्णपाठ
प्रकाशित मिति: सोमबार, कात्तिक १४, २०७९, १५:४९