काठमाडौँ- नेकपा (माओवादी केन्द्र)ले देशको अवस्था परिवर्तन आफ्नो नेतृत्वमा मात्र सम्भव भएको दाबी गरेको छ । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचन्डले सोमबार सार्वजनिक गर्नुभएको निर्वाचनको प्रतिबद्धतापत्रमा माओवादी केन्द्रको नेतृत्वमा मात्र जनताको जीवन फेर्न र नयाँ नेपाल बनाउन सम्भव भएको उल्लेख गरिएको छ ।
प्रतिबद्धतापत्रमा राजनीतिक परिवर्तनको मूल मर्मलाई साधन र माध्यम बनाएर जनताको जीवनस्तर फेर्नु र नयाँ नेपाल बनाउनु आफूहरूको योजना रहेको भन्दै यसलाई आत्मसात् गरी व्यवस्थालाई रक्षा र अवस्थामा परिवर्तन माओवादी केन्द्रको नेतृत्वमा सम्भव भएको उल्लेख गरिएको छ।
'नेपालको लोकतान्त्रिक क्रान्तिलाई आधारभूत रूपमा पूर्णता दिने राजनीतिक परिवर्तनका सबैजसो एजेन्डाहरू– गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशीकरण, सामाजिक न्याय, समाजवाद उन्मुखता हाम्रो पार्टीले अघि सारेको, स्थापित गरेको र हासिल गर्न निर्णायक भूमिका खेलेको तथ्य घाम जतिकै छर्लङ्ग छ । हाम्रो पार्टीको नेतृत्वदायी मुख्य भूमिकाबाट नै उत्पीडित वर्ग, मजदुर, किसान, महिला, आदिवासी जनजाति, मधेसी, दलित, थारु, मुस्लिम, पिछडिएको क्षेत्र, भाषिक, सांस्कृतिक सीमान्तकृत एवं लोपोन्मुख समुदायको अधिकार र उपलब्धि सम्भव भएको हो । यस निम्ति हाम्रो पार्टी गौरव गर्दछ’, प्रतिबद्धतापत्रमा भनिएको छ ।
माअोबादीले प्रत्यक्ष कार्यकारी राष्ट्रपति हुनुपर्ने प्रस्ताब गरेको छ । राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्ने बताएको हो ।
यस्तै माओवादी केन्द्रले सात वटै प्रदेशका लागि सरकारी कामकाजको भाषा तोकेको छ । प्रदेश १ मा वान्तवा राई भाषा, लिम्बू र मैथिली, मधेस प्रदेशमा मैथिली, भोजपुरी र बज्जिका, बागमती प्रदेशमा तामाङ र नेपाल भाषा, गण्डकी प्रदेशमा मगर र गुरुङ, लुम्बिनी प्रदेशमा मगर, थारु र अवधि, कर्णाली प्रदेशमा मगर र तामाङ, सुदूरपश्चिम प्रदेशमा डोटेली र थारु भाषालाई कामकाजकाे भाषा तोक्ने प्रतिबद्धता जनाइएको छ ।
घोषणापत्रको पूर्णपाठ
प्रकाशित मिति: सोमबार, कात्तिक १४, २०७९, १६:१४