काठमाडौं । सस्कृतिविद सत्यमोहन जोशीको आज सय बर्ष पुग्नु भएको छ । जोशीको जन्म शताब्दी धुमधामका साथ मनाइएको छ ।
संस्कृतिविद् जोशी १ सय वर्ष पुगेको अवसरमा उहाँलाई बग्गीमा राखेर नगर परिक्रमा पनि गराइएको छ ।
जन्म शताब्दीका अवसरमा आज ललितपुरमा आयोजित विशेष समारोहमा कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेल, नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीलगायत विशिष्ट ब्यक्तित्वहरुको उपस्थिति थियो ।
पाटनवासीले काः बाजा, धीमे बाजा, नेकु बाजालगायतका ४० प्रकारका परम्परागत बाजा बजाएका छन् । सत्यमोहनको एक सयौँ जन्म दिन मनाउन महानगरका मेयर चिरीबाबु महर्जनको अध्यक्षतामा एक सय ११ सदस्यीय जन्मोत्सव मूल आयोजक समिति गठन गरिएको थियो ।
राष्ट्रपति विद्या भण्डारीले संस्कृतिविद् जोशीको दीर्घायु र सुश्वास्थ्यको कामना गर्नुभएको छ । राष्ट्रपति भण्डारीले संस्कृतिविद् जोशी सय वर्ष प्रवेश गरेको अवसर पारेर पठाएको सन्देशमा नेपाली साहित्य र सांस्कृतिक भण्डारलाई समृद्ध बनाउन पुर्याएको योगदानको उच्च प्रशंसा गरिएको छ ।
संस्कृतिविद् जोशी सय वर्ष पुगेको अवसर पारेर आज विहान उहाँको निवासमा आफन्तजनहरुले सुस्वास्थ्य र दीर्घायूको कामना गरेका छन् । ललितपुर महानगरपालिकाले उहाँको सम्मानमा आज सार्वजनिक विदा दिएको छ ।
प्रत्येक दिनजसो सत्यमोहन विभिन्न कार्यक्रममा सहभागी हुनुहुन्छ ।
प्रकाशित मिति: सोमबार, वैशाख ३०, २०७६