काठमाडाैँ । प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उम्मेदवार हुन लाभको पदमा रहन नपाउने व्यवस्था निर्वाचन कानुनमा गरिएको छ ।
ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिनुभएका डा. तोसिमा कार्की लाभको पदमा रहेको निष्कर्ष निकाल्दै निर्वाचन आयोगले उम्मेदवारी खारेज भएपछि यसबारेमा विभिन्न टिका टिप्पणी भइरहेका छन् ।
निर्वाचन आयोगले भने पद पनि रहेको र तलब भत्ता वा पारिश्रमिक लाभ पनि लिइरहनुलाई लाभको पदमा रहेको ठहरिने प्रष्ट पारेको छ ।
प्रतिनिधि सभा सदस्यको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७४ अनुसार निर्वाचन वा मनोनयनद्वारा पूर्ति गर्ने, गरिने राजनीतिक पद बाहेक कुनै सरकारी कोषबाट पारिश्रमिक वा सुविधा पाउनेलाई लाभको पद भएको मानिने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो ।
तर निर्वाचन भन्नाले पेशागत सङ्घसंस्थाको निर्वाचन पर्ने वा नपर्ने वा तलब नलिएर बैठकको भत्ता मात्र लिने कुरालाई आर्थिक लाभ भन्ने ? विषयमा विज्ञ तथा सरोकारवाला निकायका व्यक्तिले फरकफरक धारणा राख्दै आएका छन् ।
यस्ता विषयमा कानुनमै स्पष्ट ब्यवस्था नहुँदा समस्या भएको पूर्व निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले बताउनुभयो ।
लाभको पदमा रहेको व्यक्ति प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्न नपाउने कानुन छ ।
तर लाभको पद के हो ? भन्नेबारे कानुनको अस्पष्टता र निर्वाचन आयोगको निर्णयबारे विवाद र आलोचना भइरहेको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १५, २०७९, १०:३१