गुल्मी । चुनावी प्रतिस्पर्धाको हिसाबले गुल्मी सधैँ चर्चामा आउने जिल्ला हो । यस्तै भएको छ यस पटक पनि । गुल्मीका दुवै क्षेत्रमा यस पटक चुनावी प्रतिस्पर्धा रोचक र कडा देखिएको छ । गुल्मी–२ बाट प्रतिनिधि सभामा यस पटक एमालेका गोकर्ण विष्ट र सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका रामकुमारी झाँक्री प्रतिस्पर्धामा हुनुहुन्छ ।
लामो समय एउटै पार्टीमा मात्र नभएर एकै ‘गुट’मा रहेका विष्ट र झाँक्रीबिचको प्रतिस्पर्धालाई जिल्लामा मात्र नभएर राष्ट्रिय राजनीतिमै चासोका साथ हेरिएको छ । गुल्मी–२ मा प्रतिनिधि सभाको लागि १३ जनाको उम्मेदवारी परे पनि विष्ट र झाँक्री बिच नै प्रतिस्पर्धा हुने पक्कापक्की जस्तै छ ।
गुल्मी २ मा दलगत हिसाबले एमालेको तुलनामा एकीकृत समाजवादी कमजोर छ । तर, काङ्ग्रेस, माओवादी केन्द्र र जनमोर्चाले साथ दिएकाले झाँक्री पनि बलियो बन्नुभएको छ । एमाले र विष्ट आफ्नो विरासत जोगाउन लागि पर्दा गठबन्धन पनि आफ्नो इज्जत जोगाउन कम्मर कसेर लागेको छ ।
२०५६ सालदेखि चुनावमा प्रतिस्पर्धा गर्न थालेका विष्ट २०६४ सालबाहेकका सबै निर्वाचनमा विजयी भएका छन् । सत्तारुढ गठबन्धन, विकास निर्माणका केही काम अधुरै रहनु र लामो समयदेखि दोहोरिइरहेको र गठबन्धनले युवा र महिला उम्मेदवार उठाएकाले विष्टलाई चुनौती थपिएको छ । तर, विष्टले सांसद र मन्त्री हुँदा राष्ट्रिय स्तरमा र निर्वाचन क्षेत्रमा गरेका कामका आधारमा जनताले मत दिने भएकाले विष्टको जित सुनिश्चित रहेको एमाले नेता शोभाखर गिरी बताउँछन् ।
गठबन्धनका नेताहरू भने यस पटक गुल्मी २ बाट नयाँ युवा र महिला नेता विजयी हुने जिकिर गर्छन् । गठबन्धनको मत पुरै आउने, गुल्मी २ का नागरिकले नयाँ अनुहार हेर्न चाहेको, प्रत्यक्षतर्फ पहिलो महिला उम्मेदवार रहेको र छोटो समय मन्त्री हुँदा गुल्मीमा केही नमूना काम गरेकाले झाँक्रीलाई विष्टले हराउन नसक्ने नेपाली काङ्ग्रेसका नेता छन्त पहराई बताउनुहुन्छ । तर, विष्टलाई आरोप लगाउने खासै कुनै विषय नभएको, निर्वाचन क्षेत्रका नागरिकसँग प्रत्यक्ष सम्पर्कमा रहेको जस्ता कारणले विष्टलाई हराउन झाँक्रीलाई सहज भने नभएको गठबन्धनकै केही नेता बताउँछन् ।
यस क्षेत्रमा धुर्कोट, मदाने, मालिका, इस्मा गाउँपालिका, मुसिकोट नगरपालिका र रेसुङ्गा नगरपालिकाका १ देखि ६ नम्बरसम्मका गरी ४३ वटा वडा पर्दछन् ।
गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षको मत परिणाम हेर्ने हो भने एमालेकोभन्दा गठबन्धनका उम्मेदवारले एक हजार पाँच सय चार मत धेरै पाएको देखिन्छ । एमालेको ३० हजार ८ सय ७२ मत हुँदा गठबन्धनको ३२ हजार तीन सय ७६ मत रहेको छ ।तर, यसमा गठबन्धनको मत थपिने नेताहरू बताउँछन् । माओवादीको बलियो जनाधार रहेको मानिने धुर्कोटमा एमाले र माओवादीले तालमेल गरेका थिए । वडा नम्वर १ र ४मा माओवादीका उम्मेदारले सुर्य चिन्हमा चुनाव लडेकाले सुर्य चिन्हको मत अलि धेरै देखीएको गठबन्धनका नेताहरू बताउँछन् । तर, स्थानीय तहको मत परिणाम अवस्था आँकलनका लागि एक आधार भए पनि प्रदेश र प्रतिनिधि सभामा उस्तै अवस्था रहन्छ भन्न सकिँदैन ।
त्यसैले गुल्मी दुईका मतदाताले विष्टलाई ह्याट्रिक गराउँछन् वा पहिलो पटक महिलालाई प्रत्यक्षतर्फ सांसद बनाउँछन् त्यसका लागि भने निर्वाचनसम्म पर्खर्नैपर्नेछ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १५, २०७९, १७:०४