काठमाडौँ । गायिका मञ्जु उपासनाको गीति एल्बम ‘मनको साथी’ सार्वजनिक भएको छ ।
ललितपुरको भैँसेपाटीस्थित मञ्जरी सङ्गीत पाठशालाको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच वरिष्ठ गीतकार प्राध्यापक डा कृष्णहरि बराल, वरिष्ठ गायिका सङ्गीता प्रधान राना र वरिष्ठ सङ्गीतकार सन्तोष श्रेष्ठले संयुक्त रूपमा विमोचन गर्नुभयो ।
एल्बममा ५ वटा गीत समावेश छन् ।
विमोचन कार्यक्रममा गायिका मञ्जु उपासनाले करिब १० वर्षको साधना र सिकाइका आधारमा गीति एल्बम तयार पारिएको जानकारी दिँदै स्रोता र दर्शकहरूबाट सकारात्मक प्रतिक्रिया पाउने अपेक्षा गरेको सुनाउनुभयो ।
सङ्गीतमा स्नातकोत्तर अध्ययनरत उहाँले स्रोता र दर्शकको रुचि अनुसार आधुनिक, पप शैलीका गीत ‘मनको बाँध’ मा समावेश गरेको बताउनुभयो ।
वरिष्ठ सङ्गीतकार सन्तोष श्रेष्ठले अध्ययन र साधन गरेर सङ्गीतमा आउनु सकारात्मक रहेको सुनाउँदै गायिका मञ्जुमा आफूले राम्रो सम्भावना देखेको टिप्पणी गर्नुभयो ।
विमोचन भएको एल्बममा आफ्नो सङ्गीतमा एउटा गीत समावेश भएको जानकारी गराउँदै श्रेष्ठले गायन क्षमता बढाउनका लागि कलाकारमा साधना र लगाव महत्वपूर्ण हुने टिप्पणी गर्नुभयो ।
रहरका आधारमा नेपाली सङ्गीत क्षेत्रमा प्रवेश गर्नेको सङ्ख्या पनि उत्तिकै रहेको भन्दै वरिष्ठ गायिका सङ्गीता प्रधान रानाले शब्द र सङ्गीतमा डुबेर गाउने कला आफूले मञ्जुमा देखेको टिप्पणी गर्नुभयो । ‘गायनलाई रहरका रूपमा नभई निरन्तरता दिनु पनि महत्पूर्ण पक्ष हो ।’ गायिका रानाले भन्नुभयो ।
वरिष्ठ गीतकार कृष्णहरि बरालले एल्बम भित्रका पाँचवटै गीतको समीक्षा प्रस्तुत गर्दै ‘मनको साथी’ मा स्वर, सङ्गीत र शब्दको राम्रो तालमेल रहेको उल्लेख गर्नुभयो ।
दुख र पीडाको भाव बोकेका गीत विश्वव्यापी रूपमा सर्वाधिक रूचाइएको उल्लेख गर्दै उहाँले गायिका मञ्जुको स्वर मात्र नभई अभिनय पक्ष पनि सम्भावनायुक्त रहेको धारणा राख्नुभयो । एल्बममा समावेश ‘मुटुमा चोट दियौ’ र ‘चोरी चोरी’ बोलको गीतको भिडियोमा गायिका मञ्जुको नै अभिनय रहेको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख ३०, २०७६, ०८:२४