काठमाडौँ । नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।
विहीबारको खेलमा लुम्बिनी प्रदेशलाई ६ विकेटले हराउँदै पुलिस क्लबले सेमिफाइनलमा स्थान पक्का गरेको हो । १ सय ८९ रनको लक्ष्य पुलिसले ३७ ओभर १ बलमा मात्र ४ विकेट गुमाउँदै भेट्टायो । पुलिसका कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ४३, सुनिल धमलाले ३६, आरिफ शेखले ३५, कुशल भुर्तेलले ३२ र अमित श्रेष्ठले २८ रन बनाए । लुम्बिनीका अनिल खरेलले २ तथा दुर्गेश गुप्ता र मोहम्मद हुसेनले एक एक विकेट लिए ।
त्रिवि मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ थालेको लुम्बिनी प्रदेश ४४ ओभर २ बलमा १ सय ८८ रनमा अल आउट भएको थियो ।
लुम्बिनीका कप्तान देव खनालले सर्वाधिक ७४ र विशालविक्रम केसीले ३० रन बनाए । पुलिसका दीपेन्द्रसिंह ऐरीले ४, करण केसी र सागर ढकालले दुई दुई तथा गुलशन झा र ललितनारायण राजवंशीले एक एक विकेट लिए । ३ खेलमा ६ अङ्क जोडेको पुलिस समूहको शीर्ष स्थानमा छ भने लुम्बिनी २ खेलमा २ अङ्कसहित दोस्रो स्थानमा छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक १७, २०७९, १६:२६