काठमाडाैँ । टी-ट्वेन्टी विश्वकप क्रिकेटमा पाकिस्तानले दक्षिण अफ्रिकालाई हराएको छ ।
बिहीबार वर्षले प्रभावित खेलमा पाकिस्तानले दक्षिण अफ्रिकालाई डीएल पद्धतिको आधारमा ३३ रनले हराएको हो । पाकिस्तानले दिएको १ सय ८६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित १४ ओभरमा ९ विकेट गुमाएर १ सय ८ रन मात्र बनाउन सक्यो ।
दक्षिण अफ्रिकाले ९ ओभरमा ४ विकेट गुमाएर ६९ रन बनाएको अवस्थामा पानी परेपछि खेल रोकिएको थियो । पछि दक्षिण अफ्रिकालाई १४ ओभरमा १४१ रनको लक्ष्य दिइएको थियो । दक्षिण अफ्रिकाका कप्तान टेम्बा बाभुमाले ३६ रन बनाए पनि टिमको जितका लागि पर्याप्त भएन ।
पाकिस्तानका शहिन शाह अफ्रिदीले ३ तथा सादब खानले २ विकेट लिए ।
पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ८५ रन बनाएको थियो । पाकिस्तानका लागि सादब खानले ५२ तथा इफ्तिखर अहमदले ५१ रन बनाए । मोहम्मद नवाज र मोहम्मद हरिसले समान २८/२८ रन जोडे । दक्षिण अफ्रिकाका नोर्कियाले ४ विकेट लिए ।
यो जितसँगै पाकिस्तानले सेमिफाइनल पुग्ने सम्भावना कायम राखेको छ । तेस्रो स्थानमा रहेको पाकिस्तानले ४ खेलमा ४ अङ्क जोडेको छ भने दोस्रो स्थानमा रहेको दक्षिण अफ्रिकाले ४ खेलमा ५ अङ्क जोडेको छ । यो समूहमा भारत ६ अङ्कसहित पहिलो स्थानमा छ ।
अब पाकिस्तानले आइतबार बंगलादेशसँग खेल्नेछ । उक्त खेल फराकिलो अन्तरमा जितेमा र अन्य खेलबाट आफू अनुकूल नतिजा आएमा पाकिस्तान सेमिफाइनलमा पुग्नेछ । अब दक्षिण अफ्रिकाले नेदरल्यान्ड्ससँग र भारतले आइतबार जिम्बावेसँग खेल्नेछ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक १७, २०७९, १८:१५