ध्यान कुलुङ
सङ्खुवासभा । आगामी निर्वाचनका लागि उम्मेदवारहरू सहरबजारमा मात्रै केन्द्रीत भएको मतदाताले गुनासो गरेका छन् । उम्मेदवार सहित दलका नेता कार्यकर्ता मत माग्न गाउँसम्म आइनपुगेका कारण अझै गाउँघरमा चुनावी उत्साह देखिएको छैन । विगतका निर्वाचनमा घरघरमा मात्र नभएर खेतबारीमा समेत पुग्ने उम्मेदवार यस पटक अझै गाउँ पसेका छैनन् ।
जिल्लाको शहर बजार र सुगम क्षेत्रमा घरदैलो भएपनि भोटखोला, मकालु, सभापोखरी, सिलिचोङ जस्ता दुर्गम स्थानीय तहका गाउँमा कुनै पनि उम्मेदवारले घरदैलो सुरु गरेका छैनन् । जसका कारण आफूहरूले उम्मेदवारको एजेण्डा तथा प्राथमिकता बुझ्न नपाएको चिचिला गाउँपालिका १ ढाँडगाउँका धनबहादुर गुरुङले बताउनुभयो । दुर्गम गाउँहरूमा साना दल र स्वतन्त्र उम्मेदवार पनि पुग्न सकेका छैनन् ।
गाउँघरमा चुनावी चहलपहल कम हुँदा मतदातामा चुनावी चासो पनि देखिएको छैन । दुर्गम गाउँमा चुनावी चासो नहुँदा मतदान गर्न जानेको सङ्ख्या पनि कम हुने सम्भावना बढेको स्थानीयबासिन्दाको भनाइ छ ।
दुर्गम गाउँमा दल तथा उम्मेदवारको उपस्थिती कम भए पनि प्रत्येक घरमा निर्वाचन शिक्षा कार्यक्रम पु¥याउने गरि तयारी भईरहेको जिल्ला निर्वाचन कार्यालय सङ्खुवासभाका प्रमुख रामेश्वर निरौलाले दाबी गर्नुभयो ।
सङ्खुुवासभामा प्रतिनिधि सभातर्फ १ र प्रदेश सभातर्फ २ वटा निर्वाचन क्षेत्र रहेका छन् । प्रतिनिधि सभाका लागि २ स्वतन्त्रसहित १२ जना चुनावी मैदानमा छन् । यस्तै, प्रदेश सभा (क) तर्फ एक स्वतन्त्र सहित ८ जना र प्रदेश सभा (ख) तर्फ २ स्वतन्त्र सहित ९ जना उम्मेदवार रहेका छन् । १ सय ६२ मतदान केन्द्र रहेको सङ्खुवासभामा १ लाख १७ हजार ५ सय ५४ मतदाता छन् ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १८, २०७९, १०:१५