जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका ४ गौतम बाडाका किसानले भित्र्याउने बेलाको मार्सी धानको बोटमै आगो लगाएका छन् । करिब ६० हेक्टरको गौतम बाडा जिउलोभरि रोपिएको मार्सी धानका बोटमा खेतमै आगो लगाइएको स्थानीय बासिन्दा धनकन्या उपाध्यायले जानकारी दिनुभयो । उहाँका अनुसार हेर्दा धानका बाला देखिए पनि बालाभित्र चामल नभएपछि किसानले आगो लगाएका हुन् ।
धान बालीमा ब्लाष्ट रोग लागेपछि धेरै किसानले ‘ब्युटाक्रोलर’ नामको विषादी हालेको र त्यसै कारण धान नफलेको हो कि भन्ने कतिपय किसानले शङ्का गरेको किसान लोगबहादुर हमालले सीआईएनलाई बताउनुभयो ।
मार्सि धान नफलेपछि गौतम बाडाका करिब ५६ परिवार किसानका भकारी यसपालि रित्तै हुने भएका छन्। रोपाइँ र गोडमेल सकेर भित्र्याउने बेलाको मार्सी धान नफलेपछि अब के खाएर गुजारा गर्ने भन्ने चिन्ता सुरु भएको उहाँले बताउनुभयो ।
गौतम बाडाकै किसान गङ्गादेवी उपाध्यायका अनुसार गाईबस्तु पालेका किसानले घरमा पराल मात्र ल्याएका छन् भने गाईबस्तु नहुनेले खेतमै आगो लगाएका छन् ।
जुम्लाकै सबैभन्दा ठुलो र धेरै धान फल्ने गौतमबाडा ज्युलोमा ब्लाष्ट रोग लागेको सूचना दुई महिना अघि नै आए पनि नियन्त्रणका लागि सम्बन्धित निकायले चासो नदिँदा किसानका भकारी रित्तै हुने अवस्था आएको किसान विर्खबहादुर गौतमले बताउनुभयो । कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीले धानलाई रोगबाट बचाउने प्रयास गरे पनि नसकिएको बताउनुभयो
धान नफलेपछि किसानले राहतकाे माग गरेका छन् । तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईले गौतम बाडाका किसानको राहतका लागि निवेदन आएको र अब पीडित किसानलाई राहत उपलब्ध गराउन गाउँपालिकाले पहल गर्ने बताउनुभयो । स्थानीय सरकारका साथै किसानका लागि राहतका कार्यक्रम ल्याउनु पर्ने प्रदेश र सङ्घीय सरकारले पनि राहत उपलब्ध गराउनुपर्ने किसानको माग छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १८, २०७९, १२:५०