गुल्मी । प्रतिनिधिसभातर्फका दुवै क्षेत्रमा चाखलाग्दो प्रतिस्पर्धा हुने देखिएको गुल्मी २ मा प्रदेशतर्फ पनि रोचक र कडा प्रतिस्पर्धा हुने देखिएको छ । प्रतिनिधि सभामा २ र प्रदेश सभामा ४ गरी ६ जना सांसदका लागि ६२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । यद्यपि, सत्ता गठबन्धन र एमालेका उम्मेदवारबिच प्रतिस्पर्धा हुने देखिन्छ । गुल्मी-२ का दुवै प्रदेशमा अहिले चाखलाग्दो भिडन्त हुने निश्चित जस्तै छ ।
उम्मेदवारको इतिहास–
गुल्मी २ को प्रदेश `क´ मा १० जनाको उम्मेदवारी दर्ता भएको छ । जसमध्ये एमालेका डिल्लीराज भुसाल र सत्ता गठबन्धनका उम्मेदवार भुवन श्रेष्ठबिच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । रेसुङ्गा नगरपालिका- १ का बासिन्दा भुसाल र श्रेष्ठ २५ वर्षदेखि एउटै पदमा चुनावी प्रतिस्पर्धा गर्दै आउनुभएको छ । २०५४ सालमा तत्कालीन तम्घास गाविसको अध्यक्षमा श्रेष्ठले र भुसाललाई हराउनुभएको थियो । २०७४ सालमा श्रेष्ठलाई थोरै मतले हराउँदै भुसाल रेसुङ्गा नगरपालिकाको मेयर बन्नुभएको थियो ।
अहिले दुवै उम्मेदवारले आफ्नो जित सुनिश्चित रहेको दाबी गर्दै आएका छन् । रेसुङ्गा नगरपालिकाको नेतृत्व गर्दा गरेका कामका आधारमा मत पाउने भुसालको दाबी छ भने श्रेष्ठ आजसम्म निष्ठाको राजनीति गरेका कारण आफूलाई धेरै मत आउने विश्वास छ ।
त्यस्तै प्रदेश `ख´मा ८ जनाको उम्मेदवार परे पनि कुनै समयका सहयात्री एमालेका दिनेश पन्थी र सत्ता गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका बुद्धि जीसीबिच मूख्य प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । दुवै जना उम्मेदवार मदाने गाउँपालिका ७ भनभनेका बासिन्दा हुन् । २०७४ सालमा माओवादी केन्द्रको तर्फबाट बाम गठबन्धनका उम्मेदवार बन्दै विजयी भएका पन्थी अहिले आफ्नै पुरानो पार्टीका उम्मेदवारलाई हराउन लागि परेका छन् । यता सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका जीसी पनि जित्ने दाबी गर्दै चुनावी मैदानमा हुनुहुन्छ । गठबन्धन र आफ्नो एजेन्डाकै आधारमा जनताले मत दिने दाबी जीसीको छ भने पन्थीले पनि सङ्गठनकै भोटका आधारमा चुनाव जित्ने दाबी गर्ने गर्नुभएको छ ।
स्थानीय तहको चुनावको मत परिणाम हेर्दा दुवै प्रदेशमा गठबन्धनको मत धेरै देखिन्छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १८, २०७९, १३:५३