काठमाडौँ । राजनीतिक दलहरूका चुनावी घोषणापत्रमा शिक्षाका विषय औपचारिकतामा मात्रै सीमित हुने गरेका छन् । आगामी निर्वाचनका लागि दलहरूले सार्वजनिक गरेका घोषणापत्रमा निःशुल्क शिक्षादेखि गुणस्तरीय शिक्षाका विषय उल्लेख गरिए पनि तिनले बदलिँदा चुनौतीको सामना गर्दै शिक्षा क्षेत्रको गुणात्मक सुधार गर्न नसक्ने सरोकारवाला बताउँछन् ।
धेरैजसो राजनीतिक दलले यस पटक पनि कक्षा १२ सम्म निःशुल्क पठनपाठनको व्यवस्था मिलाउने प्रतिबद्धता जनाएका छन् । जबकि यो प्रतिबद्धता दलहरूले २०७० साल अघि नै गरेका थिए । २०७२ सालमा जारी भएको संविधानमा नै माध्यमिक शिक्षासम्म निःशुल्क हुने सुनिश्चित गरिएको छ । यो विषयलाई राजनीतिक दलले घोषणापत्रमा दोहोर्याइरहेका छन् ।
राजनीतिक दलले शिक्षा क्षेत्रको समग्र र गुणात्मक विकासका योजना नबनाउँदा सामुदायिक विद्यालयप्रति नागरिकको विश्वास घट्दै गएको योगेन्द्र माध्यमिक विद्यालय मुस्ताङका प्रधानाध्यापक गोविन्दप्रसाद श्रेष्ठलेको अनुभव छ । घोषणापत्रमा हचुवाका भरमा कार्यक्रम ल्याउनुभन्दा सामुदायिक विद्यालयको समस्या बुझेर त्यसको समाधानका उपायहरू खोज्नुपर्ने उहाँको भनाइ छ ।
अघिल्ला निर्वाचनका बेला व्यक्त भएका प्रतिबद्धता किन पूरा हुन सकेनन् भन्ने समीक्षा नगरी दलहरूले फेरि उस्तै वाचा दोहोर्याएका छन् । शिक्षाविद् मिनाक्षी दाहाल अबको पाँच वर्षमा पनि यी घोषणा कार्यान्वयन हुनेमा विश्वस्त हुन नसकिने बताउनुहुन्छ । राजनीतिक दलहरूले आफू सरकारमा रहँदा पनि घोषणापत्रमा उल्लेख भएका विषय कार्यान्वयनमा चासो नदिएको उहाँको भनाइ छ ।
दलका घोषणापत्रमा लागू गर्न सकिने विषय मात्रै उल्लेख गरे कार्यान्वयन पनि हुने र शिक्षा क्षेत्रमा थोरै भए पनि सुधार हुने शिक्षा क्षेत्रका जानकार देवीराम आचार्यको भनाइ छ । पछिल्लो समय निजी र सामुदायिक विद्यालयबिच बढ्दै गएको खाडल पुर्न सके मात्रै पनि शिक्षा क्षेत्रमा देखिएका धेरै समस्या समाधान हुने उहाँ बताउनुहुन्छ । तर, यतातर्फ हुनुपर्ने जति काम हुन नसकेको उहाँको अनुभव छ ।
सामुदायिक विद्यालयको गुणस्तर सुधार्नुपर्ने, विद्यालय भर्ना दर र विद्यालयमा विद्यार्थी टिक्ने दर बढाउनुपर्ने, गुणस्तरीय उच्च शिक्षा प्रदान गर्नुपर्ने, शिक्षालाई जीविका र रोजगारीसँग जोड्नुपर्ने जस्ता अनेकौँ चुनौती भए पनि दलहरूको प्राथमिकतामा पर्न सकेको छैन । दलहरूले अन्य क्षेत्रमा जस्तै शिक्षा क्षेत्रमा पनि गुणस्तरीय सुधार र विकास भन्दा पनि सस्तो लोकप्रियताका विषय समेटेका छन् ।
प्रकाशित मिति: शनिबार, कात्तिक १९, २०७९, १३:२८