काठमाडौँ । जनता समाजवादी पार्टीले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र मुख्यमन्त्री हुने शासकीय स्वरुपको प्रस्ताव गर्दै निर्वाचन घोषणापत्र सार्वजनिक गरेको छ ।
अध्यक्ष उपेन्द्र यादवसहितका नेताले शनिवार सार्वजनिक गरेको घोषणापत्रमा ‘प्रत्यक्ष तथा सहभागितामूलक समावेशी लोकतन्त्रको मान्यता अनुरूप सङ्घमा बालिग मताधिकारमा आधारित जनताद्वारा निर्वाचित कार्यकारी राष्ट्रपति हुने व्यवस्था गर्ने’ उल्लेख गरिएको छ । जसपाले मुख्यमन्त्री तथा स्थानीय तहहरुको कार्यकारी प्रमुख पनि बालिग मताधिकारको आधारमा प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्ने प्रस्ताव गरेको छ ।
जसपाले संघीय संसद र प्रदेशसभाहरू पूर्ण समानुपातिक निर्वाचन प्रणालीबाट चयन गर्ने, कुनै पनि व्यक्ति दुई कार्यकाल भन्दा बढी कार्यकारी प्रमुख हुन नपाउने, कार्यकारी राष्ट्रपति समावेशी र सक्षम मन्त्रिपरिषद् बनाउने उल्लेख गरिएको छ ।
जसपाले पूर्वपश्चिम राजमार्ग ४ लेनमा स्तरोन्नति गर्ने काठमाडौँको रिङ रोडलाई ५ वर्षभित्र साइकल लेनको समेत ८ लेनको बनाउने, निर्माणाधीन मध्य पहाडी लोक मार्ग र हुलाकी सडक निर्माण सम्पन्न गर्ने, पुष्पलाल लोक मार्ग र निर्माण सुरु भएका उत्तर दक्षिण मार्गहरूको निर्माणलाई उच्च प्राथमिकतामा राख्नेलगायत प्रस्ताव गरेको छ ।
जसपाको घोषणापत्र
प्रकाशित मिति: शनिबार, कात्तिक १९, २०७९, १६:०५