काठमाडौँ । भारत आईसीसी टी-ट्वेन्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । अस्ट्रेलियाको मेलबर्नमा आइतबार जिम्बावेलाई ७१ रनले हराउँदै भारत समूह विजेताको रुपमा अन्तिम चारमा पुगेको हो ।
१ सय ८७ रन को लक्ष्य पाएको जिम्बावेले १७ ओभर २ बलमा १ सय १५ रनमा अल आउट भयो । जिम्बावेका लागि रायन ब्रुलले ३५ र सिकन्दर राजाले ३४ रन बनाए ।
भारतका रविचन्द्र आश्विनले ३ तथा मोहमद शामी र हार्दिक पाण्डयले २/२ विकेट लिए । पहिले ब्याटिङ गरेको भारतले ५ विकेट गुमाएर १ सय ८६ रन बनाएको थियो ।
भारतका लागि सूर्यकुमार यादवले अविजित ६१ र केएल राहुलले ५१ रन बनाए भने विराट कोहलीले २६ रन जोडे । जिम्बावेका सिन विलियम्सले २ विकेट लिए ।
जितसँगै भारतले समूह २ मा ५ खेलमा ८ अंकसहित शीर्ष स्थानमा रह्यो । यो समूहबाट ५ खेलमा ६ अंकसहित पाकिस्तान दोस्रो स्थानमा रहदै अन्तिम चारमा पुगेको छ ।
प्रतियोगिताको सेमिफाइनल समीकरण पनि पूरा भएको छ । अब सेमिफाइनलमा भारतले इंग्ल्यान्ड तथा न्युजिल्याण्डले पाकिस्तानसँग खेल्नेछन् ।
प्रकाशित मिति: आइतबार, कात्तिक २०, २०७९, १८:३८