जीवन कैला
बाजुरा । २०७४ साल अघिसम्म बाजुराको हिमाली गाउँपालिका–६ पाडीँमा पनि एउटा मतदान केन्द्र थियो, मतदाताले गाउँमै मतदान गर्थे । २०७४ सालको निर्वाचनमा भने पाडीँबाट मतदान केन्द्र हटाएर धिममा पुर्याईयो ।
अब पाडीँका मतदाता भोट हाल्नकै लागि पाँच घण्टाको पैदल यात्रा गरेर धिम पुग्नुपर्ने बाध्यता छ । ‘युवा त चार पाँच घण्टामै पुगिहाल्छन् । अशक्तलाई दिनभर लाग्छ ।’ नरजीत रावल भन्नुहुन्छ, ‘बा आमालाई बोकेर लैजानुपर्ने भएकाले धेरै समस्या छ ।’
चार गतेको निर्वाचनमा मतदान गर्न नरजीत तीन गते नै घरबाट निस्कनुपर्छ । ‘भोट राखेर त्यही दिन घर आइ पुगिँदैन । उतै बास बसेर पाँच गते मात्रै घर आईपुगिन्छ ।’ सीआईएनसँग नरजीतले भन्नुभयो ।
पाडीँ मात्रै होईन, हिमाली गाउँपालिकाको क्युडी, बछ्याँ, गौमुल गाउँपालिकाको तुगन, पाउदाने, अनराडी, बुडिगंगाको बजेडी, जुवापानी, छेडीदहको सदाडा, बुढीनन्दा ३ को नुरी, खुवा, दोगडा, सिगाडी, स्वामीकार्तिकको छुद्दरी, जगन्नाथको मल्लो काफै, बैसेरो, गोत्री लगायत गाउँका मतदान केन्द्र पुग्न घण्टौँ हिँड्नुपर्छ ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार बाजुरामा ७० मतदान केन्द्र तोकिएको छ । तीमध्ये १० वटा मतदान केन्द्र कतिपय बस्तीबाट धेरै टाढा छन् ।
पायक पर्ने ठाउँमा मतदान केन्द्र नहुँदा ज्येष्ठ नागरिक, असक्त, अपाङ्गता भएका व्यक्ति, सुत्केरी, बिरामी लगायतलाई मतदानका लागि तीन दिन माया मार्नुपर्छ । त्यसमाथि बाटो सहज नहुँदा यात्राको सास्ती त छँदै छ ।
बुढीनन्दा नगरपालिका–२ का तीर्थ कार्की अपाङ्गताका कारण आफै मतदान केन्द्र पुग्न सक्नुहुन्न । ‘नजिकै भए जेनतेन पुगिन्थ्यो । निकै टाढा छ, परिवारका मान्छे त जालान्, म कसरी जानु खै ?’ कार्कीलाई भोट हाल्ने उत्साह भए पनि कसरी पुग्ने भन्ने चिन्ता बढी छ ।
पायक पर्ने ठाउँमा मतदान केन्द्र नहुनु र त्यसमाथि यातायातको सहज पहुँच पनि नहुँदा इच्छा भएकै मतदाता पनि मताधिकारबाट वञ्चित हुनुपर्ने बाध्यता रहेको बुढीनन्दा नगरपालिका ३ का मनबहादुर बोहोरा बताउनुहुन्छ ।
पछिल्लो जनगणनाअनुसार बाजुरामा ४ दशमलव ९ प्रतिशत नागरिक अपाङ्गता भएका छन् । जसमध्ये पनि १ दशमलव ५ प्रतिशत दृष्टिविहीन छन् । त्यसबाहेक अन्य शारीरिक अपाङ्गता भएका समेत गरी दुई प्रतिशत नागरिक एक्लै मतदान स्थल पुग्न नसक्ने अवस्थाका छन् । जिल्ला अपाङ्ग सङ्घ बाजुराका अध्यक्ष मानबहादुर हमाल भन्नुहुन्छ, ‘टाढा मतदान केन्द्र भएका ठाउँमा तीन दिन लगाएर जान आउन सम्भव नै छैन ।’
मतदाताका लागि पायक पर्ने ठाउँमा मतदान केन्द्र बनाउनेबारे पटक पटक माग गरिए पनि हालसम्म सुनुवाइ भएको छैन । कतिपय ठाउँमा मतदान केन्द्र राख्दा दलगत सहमति हुन नसक्दा समस्या भएको निर्वाचन कार्यालयले जनाएको छ । ‘मतदान केन्द्र थप गर्न पहल भएको थियो, ‘जिल्ला निर्वाचन कार्यालयका प्रमुख नवराज अवस्थी भन्नुहुन्छ, ‘राजनीतिक दलहरूबिच सहमति नभएकाले यो विषय टुङ्ग्याउन सकिएको छैन ।’
प्रकाशित मिति: सोमबार, कात्तिक २१, २०७९, ११:५१