काठमाडौँ । मध्य दिउँसो, गगनचुम्बी भवनहरू छिचोलेर घामको झुल्कोले काठमाडौँ, इन्द्रचोक नजिकै भगवती मन्दिरको परिसर न्यानो बनाई रहेको थियो । काँधमा नाम्लो भिरेर त्यही झुल्कोमा सुस्ताई रहेका हुनुहुन्थ्यो, सिन्धुपाल्चोकका शिव खत्री । उमेर ६३ पुग्यो, दारी फुलेर सेताम्मे भई सके, तर छाक टार्नकै लागि भारी बोक्नुपर्ने उहाँलाई बाध्यता छ ।
५२ वर्षका धादिङका गोरे रम्तेल ११ वर्षदेखि काठमाडौँमा मजदुरी गर्नुहुन्छ । चार जनाको परिवार पाल्ने मुख्य श्रोत बनेको छ उहाँको थाप्लोको नाम्लो । आफ्नो नाममा जग्गा जमिन छैन, गाउँमै मजदुरी गरौँ काम पाइँदैन । आगामी निर्वाचन जितेर आउनेसँग उहाँको एउटै अपेक्षा छ, गाउँमै रोजागरी पाईयोस ।
बुद्धिनारायण र गोरे जस्तै काखीमा नाम्लो च्यापेर मन्दिरका सिँढी वा सडकका पिँडीमा सुस्ताइरहेकाहरूको भोगाई लगभग उस्तै छ । उनीहरूसँग न त ठुला सपना छन् न त ठुलो कुरा केही होला भन्ने आशा नै । निर्वाचन जितेर आउनेसँग पनि खासै अपेक्षा छैनन् ।
मन्दिरकै सिँढीबाट केही दिनयता फाट्टफुट्ट चुनावका ब्यानरहरू देखिन थालेका छन् अनि चोक र गल्लीमा चुनावी चर्चा बढेको छ । उनीहरुले यस पटक पनि रेडियोमा नेताहरूका बाचा र घोषणापत्रका कुरा सुनेका छन् । ती पुरा होलान् भन्ने विश्वास त छैन । तर, आफूले भोट हालेर नेता चुन्ने उत्साह भने अत्यधिक छ । ‘भोट हाल्न त जानै पर्यो, यो त अधिकारको कुरा हो नि’ बुद्धिनारायण भन्नुहुन्छ, ‘जित्नेले पो भने जसरी काम गर्दैनन् त ।’
नुवाकोटका ६१ वर्षका रामशरण आचार्यलाई पनि चुनावको उत्साह उस्तै छ । निर्वाचन जितेर आउनेहरूसँग उहाँको एउटै अपेक्षा छ, महँगी नियन्त्रण होस् । उहाँ भन्नुहुन्छ, ‘गरिबलाई महँगीले बाँच्नै मुस्किल बनाई सक्यो । कम्तीमा बजार भाउ ठिक बनाइदिए पनि त अरू के चाहिएको थियो र ?’
श्रम शक्ति सर्वेक्षण २०१७ का अनुसार आन्तरिक श्रम बजारमा ७० लाख ८६ हजार कार्यरत छन् । यसमध्ये ४४ लाखभन्दा धेरै अनौपचारिक क्षेत्रमा काम गर्छन् । कृषि क्षेत्रमा १४ लाख ३४ हजारले रोजगारी पाएका छन् भने गैर कृषिमा २९ लाख ४ हजार कार्यरत छन् । घरेलु श्रममा भने ७३ हजार जोडिएको तथ्याङ्कले देखाउँछ । रोजगारी र आम्दानी नभएपछि गाउँबाट सहर पसेका श्रमिकलाई मङ्सिर ४ को चुनावले छोएको छ । तर, जुन कारणले उनीहरूले गाउँ छोडे, त्यसको समाधान अहिलेसम्म नभएकोमा भने आक्रोश र निराशा पाइन्छ ।
सहरका सडकमा थाप्लोमा नाम्लो कसेर गुजारा चलाईरहेकाहरू सकभर गाउँमै फर्किन चाहन्छन् । तर, गाउँमा जीवन निर्वाह गर्ने उपाय नभएपछि शहर छिर्न बाध्य भएका उनीहरू घर गाउँमै रोजगारी सिर्जना हुने आश्वासन सुनिरहेका छन् । ती आश्वासन पूरा होलान् भन्ने आशा कमै मात्र छ तर, विश्वास गर्नुको विकल्प पनि छैन ।
प्रकाशित मिति: सोमबार, कात्तिक २१, २०७९, १८:५१