बिराटनगर। मोरङ ६ को प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका नेता डा. शेखर कोइराला र एमालेका लालबाबु पण्डित यस पटक पनि प्रतिस्पर्धामा हुनुहुन्छ । २०७४ सालका प्रतिस्पर्धी दुई नेताबिचको यो चुनावी ‘रिम्याच’ लाई यस पटक पनि चासोका साथ हेरिएको छ ।
गएको चुनावमा नेकपाका उम्मेदवार रहेका पण्डितसँग ६ सय ७५ मतले पराजित भएका काँग्रेस नेता कोइरालालाई यस पटक सत्ता गठबन्धनका अन्य तीन दलको पनि समर्थन छ । नेता पण्डितलाई यस पटक जसपाको समर्थन छ । पण्डितले ३३ हजार नौ सय ४१ मत प्राप्त गरेर विजयी हुँदा कोइरालाले ३३ हजार दुई सय ६६ मत प्राप्त गर्नुभएको थियो । यस पटक पण्डितलाई जितलाई निरन्तरता दिने दबाब छ भने कोइराला गत निर्वाचनको बदला लिने तयारीका साथ प्रतिस्पर्धामा हुनुहुन्छ ।
दुवै उम्मेदवार ठुला सभा भन्दा पनि व्यक्तिलाई केन्द्रित गरेर भेटघाट र सल्लाह–सुझाव लिइरहेका छन् । कोइराला संविधानको रक्षा गर्दै सुशासन कायम गर्न, अपारदर्शिता हटाउन, जबाफदेही बन्न र भ्रष्टाचार हटाउन आफ्नो उम्मेदवारी भएको भन्दै मतदातालाई रिझाउन सक्रिय हुनुहुन्छ । पण्डितले पाँच वर्षमा आफूले धेरै काम गरेको र अझै बढी काम गर्ने प्रतिबद्धतासहित मत माग्न व्यस्त हुनुहुन्छ ।
कोइरालाले १४ औँ महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गर्नुभएको थियो । काङ्ग्रेसका नेता कार्यकर्ताले कोइरालालाई काँग्रेसको भावी सभापति र अबको प्रधानमन्त्रीका रूपमा पनि व्याख्या गर्ने गरेका छन् । एमालेका नेता कार्यकर्ता पण्डित सादा जीवन बिताउने नेता भएको र विगतमा मन्त्री हुँदा गरेका कामले चर्चा पाएको कुरालाई प्रचार गरिरहेका छन् ।
तर, अघिल्लो निर्वाचनमा जस्तो सहज पण्डितलाई यस पटक नभएको विश्लेषण हुने गरेको छ । नेकपाबाट माओवादी छुट्टिनु, एमाले पनि विभाजन भएर नेकपा एकीकृत समाजवादी बन्नु र दुवै दलले कोइरालालाई साथ दिनुले पण्डितलाई धक्का पुगेको देखिन्छ । त्यसमाथि लोसपाले पनि कोइरालालाई सघाएको छ । यति मात्र होइन अघिल्लो निर्वाचनमा पण्डितले आफू गरिब नेता भएको भन्दै सहयोग गर्न आह्वान गरेपछि धेरैले ५० रुपैयाँदेखि लाखौँ रुपैयाँसम्म चुनावी खर्च सङ्कलन गरेका थिए । तर, पछि पण्डितको सम्पत्ति सार्वजनिक गर्दा गरिब नभएको पत्ता लागेपछि उहाँलाई ढाँट नेताको ट्याग लागेको छ । जसले पनि यस पटक पण्डितलाई चुनौती थपेको छ ।
तर, पण्डितलाई जसपाले समर्थन गर्नुले राहत भने मिलेको छ । अर्कोतिर, काँग्रेसमा गुटगत समस्या रहेकाले कोइरालाले गुटगत असन्तुष्टिलाई समाधान गर्नु पर्ने मुख्य चुनौती देखिएको छ । गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा क्षेत्र नं. ६ मा पर्ने विराटनगरका केही वडा र सुन्दरहरैंँचा नगरपालिकामा गुटगत समस्याकै कारण काँग्रेसले हारेको आँकलन गरिएको थियो ।
खास गरेर क्षेत्र नं. ६ मै प्रदेश नं. १ का उपसभापति रमेशजङ्ग रायमाझी र सुन्दरहरैँचाका निवर्तमान मेयर शिव ढकाल पार्टी सभापति शेरबहादुर देउवा निकट मानिन्छन् । कोइरालाका लागि यी दुवै नेताको भूमिकालाई महत्त्वका साथ हेरिएको छ । अहिले कोइरालाले दुवैसँग सहकार्य गरेर चुनावी गतिविधि गरी रहेकाले पार्टीको गुटगत असन्तुष्टि कम हुँदै गएको देखिन्छ ।
नेता कोइरालाले अघिल्लो पटक चुनावमा हारेका कारण आत्म समीक्षा गरेर यस पटक जनता र कार्यकर्ताका कुरा बढी सुन्ने गर्नुभएको छ । साथै, उहाँले आफूले पूरा गर्न सक्ने र सीमित प्रतिबद्धता मात्र चुनावी अभियानमा व्यक्त गरिरहेको काँग्रेसका नेता कार्यकर्ता बताउँछन् ।
पण्डितको विगतको जस्तो क्रेज यो पटकको निर्वाचनमा देखिएको छैन । काँग्रेस नेता कोइराला चिकित्सक र वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपति हुँदै सक्रिय राजनीतिमा आउनु भएको हो । कोइराला यसअघि २०६४ सालको संविधानसभा निर्वाचन, २०६५ सालको उपनिर्वाचन, २०७० को संविधानसभाको दोस्रो निर्वाचन र २०७४ को प्रतिनिधिसभा निर्वाचमा गरी चारपटक उम्मेदवार र दुई पटक विजयी हुनुभयो ।
एमाले नेता पण्डितले नेकपा मालेसँग आबद्ध भएर पार्टीगत राजनीति सुरु गर्नुभएको थियो । पण्डितको संसद यात्रा २०४८ सालदेखि सुरु भएको हो । त्यस निर्वाचनमा उहाँ मोरङ– ३ बाट उम्मेदवार हुनुभएको थियो । २०५१ सालमा उहाँ सोही क्षेत्रबाट पराजित हुनुभयो । पहिलो संविधान सभा निर्वाचनमा समानुपातिकतर्फबाट सभासद् बन्नुभयो । उहाँ २०७० सालमा भने प्रत्यक्ष र समानुपातिक कतै पनि उम्मेदवार नभएका पण्डित २०७४ को निर्वाचनमा कोइरालालाई नै हराएर सांसद हुनुभएको थियो । उहाँ यसअघि सामान्य प्रशासन मन्त्री बन्नुभयो ।
विराटनगर महानगर र बुढीगङ्गा गाउँपालिकाका सात सात वटा वडा र सुन्दरहरैँचा नगरपालिकाका ६ वटा वडा पर्ने निर्वाचन क्षेत्र नं. ६ मा कुल १ लाख २६ हजार ७६१ मतदाता छन् ।
मोरङ क्षेत्र नं. ६ ‘क’ मा एमालेबाट रीता न्यौपाने र सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका जीवन आचार्यबिच मुख्य प्रतिस्पर्धा हुँदै छ । आचार्य नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका ज्वाइँ हुनुहुन्छ । क्षेत्र नं. ६ ‘ख’ बाट एमाले–जसपा बाट एमालेका परशुराम बस्नेत र काँग्रेस नेतृत्वको गठबन्धनबाट काँग्रेसका केदार कार्कीबिच मुख्य प्रतिस्पर्धा हुँदै छ । कार्की प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हुनुहुन्छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २२, २०७९, १८:२३