काठमाडौँ । पाकिस्तान टी–ट्वेन्टी विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताको पहिलो सेमिफाइनलमा बुधवार न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै पाकिस्तानले उपाधि यात्रा कायमै राखेको हो ।
१५३ रनको लक्ष्य पाकिस्तानले ५ बल बाँकी छँदै ३ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानका मोहम्मद रिजवानले ५७ तथा कप्तान बाबर आजमले ५३ रन बनाए । यी ओपनरले पहिलो विकेटका लागि १ सय ५ रनको साझेदारी गर्दै पाकिस्तानलाई जितको आधार तयार पारेका थिए । मोहम्मद ह्यारिसले ३० रन बनाए । न्युजिल्यान्डका ट्रेन्ट बोल्टले दुई तथा मिचेन स्यान्टनरले १ विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले २० ओभरमा ४ विकेट गुमाएर १ सय ५२ रन बनाएको थियो । न्युजिल्यान्डका डार्ल मिचलले नटआउट ५३ रन बनाए भने केन विलियम्सनले ४६ रनको योगदान गरे । पाकिस्तानका साहिन शाह अफ्रिदीले २ विकेट लिए ।
पाकिस्तानले फाइनलमा भारत वा इंग्ल्यान्डमध्ये एक टिमसँग खेल्नेछ । प्रतियोगिताको दोस्रो सेमिफाइनलमा भोलि (बिहीबार) भारत र इंग्ल्यान्ड खेल्नेछन् ।
प्रकाशित मिति: बुधबार, कात्तिक २३, २०७९, १७:१९