चितवन ।
गाई राम्चु कान्छा डाँडापाखाहाँ..
गीत मेच कान्छा लै को भाकाहाँ..
मनमाया चेपाङलाई मातृभाषाको गीत, भाका हालेर सुनाउने मन थियो । तर स्वर पुगेन ।
किङ्गाको कान्छी जुर्याथुम्लै हो..
हान सितन बैची वा को उम्लै हौ...
हाँस्दै हाँस्दै दुई हरफ गीत सुनाएपछि मनमायाको मुहार मलिन देखियो । गफ गर्दै जाँदा थाहा भयो, अनुहारको उज्यालो त रोग र भोकले पो खोसेको रहेछ । ‘दसैँदेखि सन्चो छैन, पेट दुख्छ., खाना रुच्दैन, प्राणै जाला जस्तो हुन्छ सर के गर्नु !’ बिरामी मनमायाले गीतसँगै मनको बह बिसाउनुभयो ।
माडी नगरपालिका ९ कुसुम खोलामा लोपोन्मुख चेपाङ समुदायको बस्ती थियो । झन्डै ३० वर्षअघि बसेको बस्ती । चार वर्षअघि जग्गा खाली गर्ने भन्दै चितवन राष्ट्रिय निकुञ्जका कर्मचारीले केही घरमा आगो लगाइदिए । त्यसपछि विस्थापित भएकामध्ये कोही माडी ९ कै नयाँ बस्तीमा आई पुगे, कोही उतै छुटे । यता आएकाहरूले नगरपालिकाबाट चिटिक्क परेको घर पाएका छन् । स्थानीय फूलमाया चेपाङ नयाँ घरमा बस्न पाएर खुसी हुनुहुन्छ । तर छाक कसरी टार्ने भन्ने पिरले छोडेको छैन ।
कुसुम खोलामा प्रशस्त जग्गा जमिन थियो । खेतीपाती गरेर गुजारा चल्थ्यो । नयाँ बस्तीमा घर मात्रै छ । न उब्जनीका लागि जग्गा छ, न त आम्दानीको कुनै बाटो । धनमाया तामाङसँग अभावका अनेक कथा छन् । नुन भुटुनको जोहो गर्न मुस्किल छ । ‘घरले खान दिँदैन नि हैन र सर ?’ धनमायालाई साँझ बिहानको छाक सजिलै टार्न सके, धनको बिटो चाहिएकै छैन ।
कुराकानीका क्रममा उहाँले मातृभाषामा गुन्गुनाउनुभयो–
स्याँजो फेबल दिनिमी
स्याँजो फेबल दिनिमी
नुबतिबी दोमन मुनताजी
ल्हासो..
पुरुषहरू कमाउन जाने भएकाले यो बस्तीमा दिउँसो महिला मात्रै भेटिन्छन् । खुट्टा मर्किएका कारण घरमै आराम गरिरहेका पूर्णबहादुर प्रजालाई भने संयोगले भेटिनुभयो । पूर्णबहादुरका आँखै अघि थुप्रै चुनाव आए तर लालपुर्जा आउँदै आएन ।
बैशुमाया भन्नुहुन्छ, ‘बर्खामा पानी चुहिन्छ, हिउँदमा हावा लागेर बस्नै सकिँदैन । एउटा सिरक छ त्यही ओड्नुपर्ला ।’
हामीलाई बस्ती घुमाउन, मान्छे भेटाउन पूर्णिमाया प्रजाले सघाउनुभयो । उहाँ पूर्व वडा सदस्य पनि भएकाले बस्तीका मानिसले अगुवा मान्छन् । पुर्णिमायाका अनुसार बस्तीका मानिस भोट हाल्न तयार छन्, तर लालपुर्जाको व्यग्र प्रतीक्षा छ । दल जुनसुकै होस्, जसले लालपुर्जा दिलाउँछ उसैलाई भोट दिने पूर्णिमाया सुनाउनुहुन्छ ।
बस्तीको सिरानमा खरले छाएका साना घरहरू छन् । झट्ट हेर्दा लाग्छ, गोठहरू होलान् । तर बुझ्दै जाँदा थाहा भयो, ती बन्न बाँकी घर रहेछन् । ४६ वटा घर माडी नगरपालिका र छिमेक समाज सेवा संस्थाको सहयोगमा बनेका हुन् । बाँकी सात वटा परिवार झुपडीमा बस्छन् । तिनैमध्येको एउटा बैशुमायाको परिवार हो ।
बैशुमाया बल्ल २० वर्ष पुग्नुभयो । तर उहाँका दुई छोरी र एउटा छोरा छन् । थोत्रिएको खरको झुपडीमा न्यानो लुगा बिना कसरी हिउँद काट्ने उहाँलाई चिन्ताले सताएको छ । तर उहाँको पीडा सुन्न कोही आएको छैन । बैशुमाया भन्नुहुन्छ, ‘बर्खामा पानी चुहिन्छ, हिउँदमा हावा लागेर बस्नै सकिँदैन । एउटा सिरक छ त्यही ओड्नुपर्ला ।’
सरकारका अनुसार देशभर झन्डै १६ लाख सुकुम्वासी र भूमिहीन परिवार छन् । जसमध्ये अधिकांश दलित र जनजाति समुदायका छन् । सुकुम्वासीका नाममा हुनेखानेले सार्वजनिक जग्गा मिचेको सन्दर्भ बेलाबखत उठ्छ । अनि हरेक चुनावअघि वास्तविक भूमिहीन सुकुम्वासीलाई जग्गा र लालपुर्जा दिने विषयले पनि चर्चा पाउँछ ।
माडीको सुकुम्वासी बस्ती मतपत्र भन्दा अघि लालपुर्जाको कागज पर्खिरहेको छ । तर, अचम्मलाग्दो कुरा चुनाव आउन ११ दिन मात्रै बाँकी हुँदासम्म यो बस्तीमा भोट माग्न नेताहरू अझै पुगेका छैनन् । यसअघिका बाचाले उनीहरूलाई बस्ती छिर्न मुस्किल परेको हुनसक्ने अनुमान लगाउन सकिन्छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक २३, २०७९, १८:३७