काठमाडौँ । मतदान गर्न पाउनु मतदाताको अधिकार हो । तर, विभिन्न कारणले सबै मतदाताले मतदान गर्न पाउँदैनन् ।
मतदान गरेका सबै मतदाताको मत सदर पनि हुँदैन । मतदान गर्ने सही तरिकाबारे मतदातालाई पर्याप्त जानकारी नहुँदा औसतमा ५ प्रतिशतको हाराहारीमा मत बदर हुने गरेको छ ।
निर्वाचन आयोगले समयमै र प्रभावकारी रूपमा काम गर्न नसक्दा आगामी निर्वाचनमा पनि मत बदर प्रतिशत बढ्ने जोखिम देखिएको छ । दलहरूको गठबन्धनका कारण यस पटक कतिपय क्षेत्रमा कुनै दलका उम्मेदवार छैनन् । यस्तो अवस्थामा मतदाता झुक्किने सम्भावना अझ बढी हुने भन्दै यस पटक २०७४ को तुलनामा मत बदर प्रतिशत बढ्न सक्ने अनुमान गरिएको छ ।
एउटै चुनाव चिह्नमा धेरै पटक स्वस्तिक चिह्नको प्रयोग, स्वस्तिक चिह्नको सट्टा औँठाछाप लगाएको, चुनाव चिह्नमा कलमले लेख्ने, तोकिएको घेराभित्र स्वस्तिक छाप पार्न नसक्ने, एउटै पदमा धेरै उम्मेदवारलाई मतदान गर्ने जस्ता कारणले मत बदर हुने गरेको निर्वाचन आयोगले जनाएको छ ।
आयोगले मतदाता शिक्षाका लागि धेरै काम गरिरहेको दाबी गरे पनि मतदाता भने अझै सही तरिकाले मतदान गर्ने तरिका थाहा नभएको बताउँछन् । कैलालीको जानकी गाउँपालिकाका मतदाता पारस चौधरी मतदान गर्ने तरिका नै मतदातालाई राम्रोसँग नबुझाइएको बताउनुहुन्छ ।
दलहरूबिच गठबन्धन हुँदा उम्मेदवार नभएको चिन्हमा मतदान गर्ने समस्या पनि छ । यस पटकको निर्वाचनमा आयोगले मतदाता शिक्षाका लागि एउटा वडामा एक जना स्वयंसेविकालाई १५ दिन खटाएको छ । तर यो समय सहरी क्षेत्रमा पर्याप्त नहुने र सबै मतदातासम्म पुग्न नसकिने मतदाता नै बताउँछन् ।
मतदाता शिक्षाका कुरा निर्वाचन घोषणा हुनासाथ सुरु गर्नुपर्ने ललितपुरका उत्तम शाक्य बताउनुहुन्छ । ‘मतदाता शिक्षा त, चुनावको मिति घोषणा हुने बित्तिकै पो दिनु पर्छ,’ शाक्य भन्नुहुन्छ, ‘यति थोरै समयमा शिक्षा दिनेले कसरी दिनु ? लिनेले पनि कसरी लिनु ?’
नेपालमा २०४८ साल यता ६ पटक संसदीय निर्वाचन सम्पन्न भयो । २०४८ सालमा भएको आम निर्वाचनमा ४ प्रतिशतभन्दा बढी, आम निर्वाचन २०५१ मा ३ प्रतिशतभन्दा बढी अनि २०५६ को आम निर्वाचनमा करिब ३ प्रतिशत मत बदर भएको थियो ।
आयोगका अनुसार २०६४ को पहिलो संविधानसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ५ प्रतिशत, समानुपातिकतर्फ झन्डै ४ प्रतिशत, २०७० को दोस्रो संविधान सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ करिब ४ प्रतिशत र समानुपातिकतर्फ ३ प्रतिशतभन्दा बढी मत बदर भएको थियो । तर, २०७४ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ बदर मत प्रतिशत बढ्दै ५ प्रतिशत पुगेको थियो भने समानुपातिकतर्फ झन्डै १० प्रतिशत मत बदर भयो । प्रदेश सभातर्फ प्रत्यक्षमा ४ प्रतिशतभन्दा बढी र समानुपातिकतर्फ झन्डै १६ प्रतिशत मत बदर भएको थियो ।
निर्वाचनका बेला मात्रै आयोग क्रियाशील बन्दा बदर मत प्रतिशत घट्न नसकेको भनेर पटक पटक आयोगको ध्यानाकर्षण गर्ने गरिएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेल भने मतदाता शिक्षाका लागि घरदैलोसँगै सामाजिक सञ्जाल, सञ्चारमाध्यम लगायतबाट पनि मतदाता शिक्षा प्रदान गरिरहेको दाबी गर्नुहुन्छ । हरेक निर्वाचनमा मतदाता शिक्षाका लागि मनग्ये काम गरेको आयोगले दाबी गरे पनि बदर मत नघट्नुले आयोगको भनाइ गलत रहेको पुष्टि गर्छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २४, २०७९, ११:४०