काठमाडौँ । त्रिभुवन आर्मी क्लब पीएम कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई २ विकेटले हराउँदै आर्मी फाइनलमा पुगेको हो ।
३ सय ५ रनको लक्ष्य आर्मीले ४९ ओभर ५ बलमा ८ विकेट गुमाएर ३ सय ९ रन जोड्दै पूरा गर्यो । आर्मीको जितमा रोहित पौडेलले ८९ र हरि चौहानले ७५ रन बनाएभने राजेश पुलामीले अविजित ४३ रनको योगदान गरे ।
पुलिसका करण केसीले ६ विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ४ रन बनाएको थियो ।
पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले १ सय ४० रन बनाए । उनले १ सय २५ बलमा ११ चौका र ५ छक्का प्रहार गरेका थिए । यस्तै आरिफ शेखले अविजित ९१ रनको योगदान गरे ।
आर्मीका बिक्रम सोबले ३ विकेट लिए । प्रतियोगिताको उपाधिका लागि आर्मीले एपीएफ क्लबसँग खेल्नेछ ।
फाइनल खेल शनिबार हुनेछ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २५, २०७९, १९:२३