काठमाडौ । निर्वाचन नजिकिँदा बजारमा उपभोग्य वस्तुको मूल्य समेत आकासिएको छ । चामल, दाल, तेल, पिठो र तयारी खानेकुराको मुल्य बढेको हो । मैदा, पाउरोटी, विस्कुट, चाउचाउ लगायतको मूल्य १० देखि ४० रुपैयाँसम्म बढेको छ ।
आयातित खाद्यन्नसँगै स्वदेशी उत्पादनहरुमा पनि मूल्य बढ्दै गएको छ । मैदाको मूल्य प्रतिकिलो ११० रुपैयाँ पुगेको छ । मल बोरामा २ सयभन्दा बढी रुपयाँले बढेको छ भने तेलको मूल्य कार्टुनमा ३ सय रुपैयाँ बढेको छ । दालहरुको मूल्य किलोमा १० रुपैयाँ भन्दा धेरै बढेको ब्यवसायीले बताएका छन् । सीआईनसँग कुरा गर्दै उपभोक्ता हित संरक्षण मञ्चका सचिव अधिवक्ता हरिप्रसाद मैनालीले निर्वाचनमा राजनितिक दलहरूले उद्योगीहरूसँग उठाउने चन्दाको असर बजारमा देखिने गरेको बताउनुभयो ।
सरकारमा जाने व्यक्ती नै मुख्यबृद्धीमा संलग्न हुने भएकाले यसबारे चासो नदिने भन्दै उहाँले त्यसको मार आम उपभोक्ताले खेप्नुपर्ने अवस्था रहेको बताउनुभयो । तर वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक महेश भट्टराईले भने अन्तराष्ट्रियस्तरमा बढेको ईन्धनको मुल्यका कारण आयातित वस्तुको मुल्यमा प्रभाव परेको हुनसक्ने बताउनुभयो ।
यद्यपी बजारको अनुगमन गरि वस्तुको मनपरी मूल्य कायम गरिएको खण्डमा भने कारवाही गर्न विभाग सधैँ तत्पर रहेको उहाँको दाबी छ ।
प्रकाशित मिति: शनिबार, कात्तिक २६, २०७९, ०७:५५