काठमाडौँ । केही दिन अघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड माथि आक्रमण भएको भिडिओ टिकटकलगायत सामाजिक सञ्जालमा आयो ।
तर, त्यो भिडिओ ८ वर्ष अघिको भएको केही दिनपछि पुष्टि भयो ।
नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौँ ४ का उम्मेदवार गगन थापाले माओवादीको प्रचार सामग्री भएको लुगा लगाएको भन्दै एउटा तस्बिर सामाजिक सञ्जालमा भाइरल भयो ।
त्यो ५ वर्ष अघिको तस्बिरलाई ‘फोटो सप’ गरिएको तथ्य जाँचकी संस्था 'नेपाल जाँच' ले पत्ता लगायो ।
प्रयोगकर्ता बढेसँगै दल र उम्मेदवारले आफ्ना चुनावी मुद्दा सामाजिक सञ्जालमा राख्ने क्रम पनि बढेको छ । यही कुराको फाइदा उठाउँदै मिथ्या सूचना र सामग्री फैलाउनेहरू सक्रिय हुने गरेका छन् । निर्वाचनका बेला राजनीतिक दल र उम्मेदवारले आफूलाई अब्बल र प्रतिस्पर्धीलाई कमसल देखाउन अनेकौ उपाय अपनाउँछन् ।
मतदातालाई जसरी भए पनि आफ्नो पक्षमा पार्न उम्मेदवार र उनीहरूका सहयोगीले सूचना र सामग्रीको दुरुपयोग गर्ने गरेका छन् । उम्मेदवार, राजनीतिक दल र समर्थकले आफूलाई फाइदा पुगोस् भनेर मिथ्या सूचना र सामग्रीको उपयोग गर्नाले आम नागरिक र मतदातालाई भने दुबिधा हुने गरेको छ ।
बुटवलका आह्वान पौडेल आगामी निर्वाचनमा पहिलो पटक मतदान गर्दै हुनुहुन्छ । सामाजिक सञ्जालमा विभिन्न उम्मेदवारका पेजहरू देखिन थालेको उहाँको अनुभव छ । ‘फेसबुकमा विभिन्न थरीका सूचना देखिन्छन् अनि अलमलमा परिने के’ पौडेल भन्नुहुन्छ ।
जानकारहरूका अनुसार, यस्ता गलत सूचना तीन खालका हुन्छन् । पहिलो हो, मिस इन्फरमेसन अर्थात् राम्रो उद्देश्यका साथ सेयर गरिएका गलत सामग्री । यस्ता सामग्रीको नियत खराब वा कसैलाई हानि पुर्याउने त हुँदैन तर यस्ता सूचना कतै प्रमाणित भएका हुँदैनन् । यस्ता सामग्री प्रयोगकर्ता झुक्किएर वा गल्ती गरेर सेयर गरिरहेका हुन्छन् ।
अर्को हो, डिसइन्फर्मेसनः अर्थात् गलत उद्देश्यका साथ सेयर गरिएका सामग्री । यस्ता सूचना र सामग्रीमा खराब नियत वा कसैलाई हानि पु¥याउने उद्देश्य राखिएको हुन्छ । यसलाई सङ्गठित समूहहरू वा राजनीतिक दल र कार्यकर्ताले बढी फैलाउँछन् । निर्वाचनको समयमा डिसइन्फर्मेसन बढी फैलिन सक्छ ।
अनि अर्को हो मालइन्फर्मेसनः दुष्प्रचार अर्थात् सही सूचनालाई गलत उद्देश्यका साथ प्रयोग गरिनु । कुनै सूचना आफ्नो विपक्षीलाई गलत देखाउन प्रयोग गरिनु । निर्वाचन आयोगले भने आचारसंहिताको पालना गर्दै प्रचारप्रसार गर्न अनुरोध गर्दै आएको छ ।
निर्वाचन आचारसंहिताअनुसार गलत, भ्रामक वा द्धेषपूर्ण सूचना प्रवाह गर्न, झुटा साइट र एकाउन्ट सञ्चालन गर्न, अर्कै प्रयोजनको लागि प्रकाशन/प्रसारण भएको सूचना वा सामग्रीलाई तोडमोड गरी सेयर, लाइक वा कमेन्ट गर्न पाइँदैन ।
कसैको पक्ष वा विपक्षमा विचार राख्न, प्रचारप्रसार गर्न कसैको चरित्र हत्या हुने, व्यक्तिगत लाञ्छना लगाउने, मानहानि हुने किसिमको प्रचारप्रसार पनि गर्न पाइँदैन ।
निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्याल सामाजिक सञ्जालमा फैलाउने मिथ्या सूचना, भ्रमलाई आयोगले सूक्ष्म निगरानी गरिरहेको बताउनुहुन्छ । ‘अहिले पनि हामी निगरानी गरिरहेका छाैँ, निर्वाचनपछि पनि गर्छौ कारबाहीको दायरामा ल्याउँछौ’ अर्यालले भन्नुभयो ।
गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा मिथ्या सूचना फैलाउने क्रम यसअघिको तुलनामा बढेको थियो । आउन लागेको निर्वाचनमा यो क्रम अझ बढ्न सक्ने भएकाले सचेतना अझै बढाउनुपर्ने जानकारहरू बताउँछन् ।
मिडिया अनुसन्धानकर्ता उज्ज्वल आचार्य समाचार र सूचना पढ्दा, सुन्दा कति विश्वसनीय माध्यम हो भनी पत्ता लगाउनुपर्ने बताउनुहुन्छ । ‘त्यो सूचना कसले सेयर गरिरहेको छ भनेर हेर्नुस् त्यसमा पनि पक्ष विपक्ष हुन्छ नि’ त्यसैगरी पत्ता लगाउने हो ।
गलत, भ्रमपूर्ण सूचना छन् भने रिपोर्ट गर्नुपर्ने, तथ्य जाँच गर्ने संस्थाहरूको सहयोग लिनुपर्ने आचार्यको सुझाव छ ।
नेपाल चेकका सम्पादक दीपक अधिकारी मिथ्या सूचनाको बाढीबाट जोगिन कठिन रहे पनि जरुरी रहेको बताउनुहुन्छ ।
सूचना कस्तो स्रोतबाट आएको हो भन्ने कुरा निर्क्योल गर्ने, र सूचना मिथ्या भएको पाइए तत्कालै रिपोर्ट गर्ने जस्ता सचेतना पाठकमा हुन सके मिथ्या सूचनाको दुष्प्रभाव कम हुने बताउनुहुन्छ ।।
निर्वाचनका बेला उम्मेदवारले आफ्नो बढाइचढाइ प्रचार मात्र गर्दैनन्, प्रतिस्पर्धीको बदनाम गर्ने र भ्रम छर्ने काम पनि उत्तिकै गर्छन् । त्यसैले निर्वाचनका बेला तथ्य सूचना मात्र पत्याउन र मिथ्या सूचनालाई बेवास्ता गर्न नागरिक सचेतना नै सबैभन्दा भरपर्दो उपाय हो ।
प्रकाशित मिति: शनिबार, कात्तिक २६, २०७९, १६:३४