काठमाडौँ । सशस्त्र प्रहरीको एपीएफ क्लबले पीएम कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
शनिबर कीर्तिपुरमा भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले हराउँदै एपीएफले उपाधि जितेको हो ।
उपाधिसँगै एपीएफले नगद १० लाख र उपविजेता आर्मीले ५ लाख रुपैया पुरस्कार पाएको छ । सेमिफाइनलबाट बाहिरिएका पुलिस क्लब र मधेश प्रदेशले ५०र५० हजार प्राप्त गरे ।
विवादका कारण ढिला सुरु हुँदा ४० ओभरमा घटाइएको खेलमा पहिले ब्याटिङ गरेको आर्मीले १ सय ८० रनको लक्ष्य दिएको थियो । यो लक्ष्य एपीएफले ३८ ओभर ३ बलमा ६ विकेट गुमाएर पूरा गर्यो ।
एपीएफको जितमा भुवन कार्कीले ५५ र सुमित महर्जनले ३४ रन बनाए ।
आर्मीका जितेन्द्र मुखियाले २ विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ३९ ओभरमा अलआउट हुदै १ सय ७९ रन बनाएको थियो ।आर्मीका रोहितकुमार पौडेलले ४९ रन बनाए ।
एपीएफका अमरसिंह रौटेला र मौसम ढकालले ३,३ र किशोर महतोले २ विकेट लिए । प्रतियोगितामा १० टोलीले प्रतिस्पर्धा गरेका थिए ।
प्रकाशित मिति: शनिबार, कात्तिक २६, २०७९, १९:४३