काठमाडौँ । टी–ट्वेन्टी पुरुष विश्वकप क्रिकेटको उपाधि इङ्गल्यान्डले जितेको छ । अस्ट्रेलियाको मेलबर्नमा भएको फाइनलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै इङ्गल्यान्डले उपाधि उचालेको हो । यससँगै इङ्गल्यान्ड दोस्रो पटक टी–ट्वेन्टी विश्वकपको उपाधि जित्ने दोस्रो टिम समेत बनेको छ ।
१३८ रनको लक्ष्य इङ्गल्यान्डले एक ओभर बाँकी छँदै ५ विकेट गुमाएर पूरा गर्यो । इङ्गल्यान्डका लागि बेन स्टोक्सले अविजित ५२ रन बनाउनुभयो । पाकिस्तानका ह्यारिस रौफले २ तथा सहिन शाह अफ्रिदी, शादब खान र मोहम्मद वासिमले १–१ विकेट लिए पनि लक्ष्य ठुलो नभएकाले इङ्गल्यान्डले सहजै भेट्टायो ।
टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ८ विकेट गुमाउँदै एक सय ३७ रन बनाउन सक्यो । पाकिस्तानका शान मसुदले ३८ र कप्तान बाबर आजमले ३२ बनाए पनि अन्यले राम्रो ब्याटिङ गर्न सकेनन् ।
पाकिस्तानले अन्तिम पाँच ओभरमा ३१ रन मात्रै जोड्न सकेपछि सामान्य योगफल मात्र बनाउन सक्यो । इङ्ग्ल्यान्डका लागि साम करनले ४ ओभरमा १२ रन खर्चिएर ३ विकेट लिए । यस्तै, क्रिस जोर्डन र आदिल रासिदले २–२ र बेन स्टोक्सले १ विकेट लिए ।
प्रकाशित मिति: आइतबार, कात्तिक २७, २०७९, १७:४६