इटहरी । गएको स्थानीय चुनाव पछि धरान चर्चामा छ । मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङलाई जिताएर चर्चा कमाएको धरान त्यसपछि पनि मेयर साम्पाङको कहिले काम त कहिले अभिव्यक्तिका कारण बेलाबेला चर्चामा आउने गरेको छ ।
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन आउनै लाग्दा धरानको मत निर्णायक हुने सुनसरी–१ पनि चर्चामा छ ।
मुख्य प्रतिस्पर्धी रहँदै आएका एमाले र कांग्रेसका उम्मेदवार नहुनु र स्वतन्त्र उम्मेदवारले बलियो दाबेदार पेस गर्नुले पनि यस पटकको निर्वाचनमा धरानसहित सुनसरी–१ को चर्चा बढेको हो ।
दुवै गठबन्धनका उम्मेदवारलाई स्वतन्त्र उम्मेदवार मुख्य चुनौती बनेका छन् ।
सुनसरी–१ मा यस पटक सत्तारुढ गठबन्धनबाट माओवादीका मुक्सामहाङ मेन्याङ्बो र एमालेको समर्थनमा जसपाका अशोक राई उम्मेदवार हुनुहुन्छ ।
कुनै समय एमालेकै उपाध्यक्ष रहेका अशोक एमाले त्यागेर विभिन्न पार्टी हुँदै जसपामा पुग्नुभएको हो ।
संयोग नै भनौँ, जसपा र एमालेको चुनावी तालमेलका कारण अशोक एमालेको समेत उम्मेदवार बन्नुभएको छ । तर पार्टीको यो निर्णयमा असन्तुष्ट रहँदै एमालेका मनोज मेन्याङ्बोले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।
उहाँ धरानका पूर्व मेयर पनि हुनुहुन्छ ।
अहिले मेन्याङ्बो र अर्का स्वतन्त्र उम्मेदवार कुमार कार्कीका कारण सुनसरी–१ मा गठबन्धनका उम्मेदवार भन्दा स्वतन्त्र उम्मेदवार सक्रिय देखिएका छन् ।
जसका कारण चुनावी माहोल धेरै तातिएको पनि छ । एमालेका धेरैजसो नेता–कार्यकर्ता मनोजको चुनावी प्रचारमा खटिएका छन् । स्वतन्त्र उम्मेदवार कार्कीको पक्षमा विशेष गरी, भूमिहीन र सुकुम्वासी समुदायका मतदाता बढी लागेका छन् ।
नेपाल बस्ती बसोबास संरक्षण समाजका केन्द्रीय अध्यक्षसमेत रहेका कार्की लामो समयदेखि धरानमा सुकुम्वासीका पक्षमा लागिरहनुभएको छ । धरानमा स्थानीय निर्वाचनमा समेत सुकुम्वासी समुदायको मत सधैँ निर्णायक हुने गरेको छ ।
गएको स्थानीय निर्वाचनमा समेत यो समुदायले एमाले र कांग्रेसका उम्मेदवारको साटो स्वतन्त्र उम्मेदवार साम्पाङलाई सहयोग गरेको ठानिन्छ ।
बराहक्षेत्रमा पनि सुकुम्वासी समुदायको ठुलो मत छ, जसको फाइदा कार्कीलाई हुनसक्छ ।यो क्षेत्रमा सुकुम्वासी मतदाता करिब ३० हजार रहेको विभिन्न अध्ययनले देखाएका छन् ।
राजनीतिक दलले अरु बेला तिनै सुकुम्वासीलाई भोट बैङ्कको रूपमा प्रयोग गर्दै आएकोमा यस पटक सुकुम्वासीकै नेता कार्की उम्मेदवार रहेकाले त्यो मत यस पटक उहाँले पाउने विश्लेषण गर्नेहरू धेरै छन् ।
हरेक निर्वाचनमा सुकुम्वासीको मत निर्णायक बन्ने गरेको छ । कार्कीलाई राष्ट्रिय जनमुक्ति पार्टीले समेत समर्थन जनाइसकेको छ ।
धरानका मेयर हर्क साम्पाङ निकट भनेर चिनिएका तर्कबहादुर मगरले पनि स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । त्यसैले हर्कको समर्थन तर्कलाई रहने ठानिएको छ ।
यस्तै, काँग्रेसबाट असन्तुष्ट भएर मातृका भट्टराईले पनि स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।
भट्टराईको जित्ने आधार कम भए पनि धरान वडा नं. ६ बाट भने राम्रै मत ल्याउने भएकाले त्यसले पनि गठबन्धनका उम्मेदवारलाई असर गर्ने छ । यो क्षेत्रमा राप्रपाका उद्धव श्रेष्ठ उम्मेदवार हुनुहुन्छ ।
२०७४ को निर्वाचनमा जसपाका राई काँग्रेसको समर्थनमा यही क्षेत्रबाट उम्मेदवार हुनुहुन्थ्यो । उहाँलाई एमाले–माओवादीसहितको वाम गठबन्धनका जयकुमार राईले दोब्बर मतले पराजित गर्नुभएको थियो ।
यस पटक पनि एमालेले जयकुमारकै एकल नाम सिफारिस गरे पनि अन्तिम समयमा एमालेले अशोकलाई समर्थन गरेपछि एमालेभित्र असन्तुष्ट समूहले मनोजलाई उम्मेदवार बनाएको हो ।
काँग्रेस र एमाले दुवै दलभित्रको असहमतिका कारण स्वतन्त्र उम्मेदवारहरूको चर्चा थपिएको छ । दुवै दलका क्षेत्रीय स्तरका नेताहरू नै टिकट वितरण राम्रो नभएको स्विकार्छन् ।
दुवै ठुला दलभित्रको असन्तुष्टिका कारण यस पटक नतिजाको पूर्व अनुमान पनि गर्न गाह्रो रहेको प्राध्यापक टङ्क न्यौपाने बताउनुहुन्छ ।
लामो समयदेखिको राजनीतिक सक्रियता रहेका अशोक राईलाई एमालेसहितको मत आउनुपर्ने भए पनि एमालेका मेन्याङ्वोले उनको मत काट्ने आँकलन गरिएको छ ।
माओवादीका मेन्याङबोलाई कांग्रेसको सबै मत आउने विषयमा शङ्का गर्नेहरू पनि धेरै छन् । धरानको मेयर रहँदा राम्रो चर्चा कमाएका र जनजातीय सङ्गठनमा राम्रो पहुँच भएकाले मनोजको मत पनि राम्रो आउने अनुमान गरिएको छ ।
प्रा. टङ्क न्यौपाने ठुला दलप्रति जनतामा वितृष्णा बढेको र मतदाताले नयाँ अनुहार रुचाउने गरेकाले गर्दा ठुला दलबाट प्रतिनिधित्व गर्ने उम्मेदवारलाई धक्का लाग्न सक्ने विश्लेषण गर्नुहुन्छ ।
२०७४ को निर्वाचनमा जसपाका राई काँग्रेसको समर्थनमा यही क्षेत्रबाट उम्मेदवार हुनुहुन्थ्यो । उहाँलाई एमाले–माओवादीसहितको वाम गठबन्धनका जयकुमार राईले दोब्बर मतले पराजित गर्नुभएको थियो ।
यस पटक पनि एमालेले जयकुमारकै एकल नाम सिफारिस गरे पनि अन्तिम समयमा एमालेले अशोकलाई समर्थन गरेपछि एमालेभित्र असन्तुष्ट समूहले मनोजलाई उम्मेदवार बनाएको हो ।
काँग्रेस र एमाले दुवै दलभित्रको असहमतिका कारण स्वतन्त्र उम्मेदवारहरूको चर्चा थपिएको छ । दुवै दलका क्षेत्रीय स्तरका नेताहरू नै टिकट वितरण राम्रो नभएको स्विकार्छन् ।
दुवै ठुला दलभित्रको असन्तुष्टिका कारण यस पटक नतिजाको पूर्व अनुमान पनि गर्न गाह्रो रहेको प्राध्यापक टङ्क न्यौपाने बताउनुहुन्छ ।
लामो समयदेखिको राजनीतिक सक्रियता रहेका अशोक राईलाई एमालेसहितको मत आउनुपर्ने भए पनि एमालेका मेन्याङ्वोले उनको मत काट्ने आँकलन गरिएको छ ।
माओवादीका मेन्याङबोलाई कांग्रेसको सबै मत आउने विषयमा शङ्का गर्नेहरू पनि धेरै छन् । धरानको मेयर रहँदा राम्रो चर्चा कमाएका र जनजातीय सङ्गठनमा राम्रो पहुँच भएकाले मनोजको मत पनि राम्रो आउने अनुमान गरिएको छ
स्थानीय निर्वाचनको नतिजा
क्षेत्र नं. १ मा १ लाख ४१ हजार ८ सय ७८ जना मतदाता छन् । गत स्थानीय निर्वाचनमा धरानबाट स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ २० हजार ८२१ मत ल्याएर मेयरमा विजयी हुनुभएको थियो ।
उहाँले काँग्रेस नेतृत्वको गठबन्धनका उम्मेदवार किशोर राईलाई ४ हजार ७६२ मतान्तरले हराउनुभएको थियो । उपमेयरमा नेकपा माओवादीको तर्फबाट गठबन्धनका उम्मेदवार आइन्द्र विक्रम बेघाले २० हजार ५१० मत ल्याएर विजयी हुनुभएको थियो ।
धरानमा एमालेले १०, काँग्रेसले सात तथा नेकपा माओवादी केन्द्र, राप्रपा र स्वतन्त्र उम्मेदवारले एक–एक वटा वडा जितेका थिए ।
क्षेत्र नं. १ मा पर्ने वराहक्षेत्र नगरपालिकामा एमालेले तीन र काँग्रेसले दुई वटा वडा जितेको थियो । यस्तै रामधुनीका एक एक वटा वडा काँग्रेस र एमालेले जितेको थियो ।
प्रदेश सभातर्फ सुनसरी १ (क) मा सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका प्रदेश महामन्त्री उमेश थापा र एमाले–जसपा गठबन्धनबाट एमालेका रमेश बस्नेतबिच पनि कडा प्रतिस्पर्धा हुने ठानिएको छ ।
प्रदेश १ (ख) बाट सत्ता गठबन्धनबाट एकीकृत समाजवादी धरान नगर अध्यक्ष रेवतीरमण राई र एमाले–जसपा गठबन्धनबाट एमालेका विजय राई चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । यहाँ एकीकृत समाजवादी पार्टीको सङ्गठन तुलनात्मक रूपमा कमजोर मानिन्छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक २८, २०७९, ११:३८