धनगढी । 'उद्यमी युवा समृद्ध देश : दिगो विकास लक्ष्यमा समान परिवेश' भन्ने मुल नाराका साथ आजदेखि धनगढीमा प्रदेश युवा सम्मेलन २०१९ सुरु भएको छ ।
नेपाल युवा परिषद्को आयोजनामा सुरु भएको सम्मेलनमासुदुरपश्चिम प्रदेशका ९ वटै जिल्लाबाट २०० भन्दा बढी युवाहरुको सहभागिता रहेको छ ।
सम्मेलनको उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले राष्ट्रको विकास र समाज परिवर्तनमा युवाको महत्वपूर्ण भुमिका हुनेमा जोड दिँदै यसमा सरकारले सहकार्य गर्ने बताउनुभयो ।
दुई दिनसम्म चल्ने सम्मेलनमा पर्यटन, सूचना प्रबिधि, दिगो विकासका लक्ष्य, जलवायु परिवर्तनलगायतका विषयमा छलफल हुने परिषद्का संस्थापक अध्यक्ष सरोज बानियाले जानकारी दिनुभयो ।

सम्मेलनका क्रममा सुदूरपश्चिम प्रदेशका युवाहरुले प्रदेश विकासका लागि कार्ययोजना बनाई प्रदेश प्रमुखलार्ई बुझाउने कार्यक्रम रहेको बानियाले बताउनुभयो ।
सम्मेलनको पहिलो दिन आज उद्यमशीलताको विषयमा प्यानल छलफल गरिएको छ । छलफलमा कैलाली उद्योग वाणिज्य संघका उपाध्यक्ष पुस्कर ओझा, सामाजिक विकास मन्त्रालय युवा तथा खेलकूद महाशाखाका प्रमुख पदमराज जोशी, महिला उद्यमी रुकमणि देवकोटा र पर्यटन व्यवसायी योगेन्द्र बम सहभागी भएका थिए ।
युएनडीपी, धनगढीका प्रमुख बैजन्ती गिरी सिहले दिगो विकासका लक्ष्यहरुको बारे जानकारी गराउनुभएको थियो भने अक्सफाम ट्रोसा परियोजना संयोजक समीरा शाक्यले पानी सुशासनमा युवाको भूमिका बारे जानकारी गराउनुभएको थियो ।
नेपाल युवा परिषद्का केन्द्रीय सदस्य किशोर न्यौपानैले जलवायु परिवर्तन बारे प्रशिक्षण दिनु भएको थियो ।
प्रकाशित मिति: बुधबार, जेठ १, २०७६