गुल्मी । मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि गुल्मीमा झन्डै तीन हजार सुरक्षाकर्मी परिचालन गरिने भएको छ । जिल्लाको भूगोल, मतदान केन्द्रको अवस्था हेरीकन सुरक्षा व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताउनुभयो ।
गुल्मीमा एक हजार चार सय ६० जना म्यादी प्रहरी, ८ सय नेपाल प्रहरी , तीन सय सशस्त्र प्रहरी र चार सयको हाराहारीमा नेपाली सेना परिचालन हुने उहाँले जानकारी दिनुभयो ।
निर्वाचन मर्यादित र भयरहित वातावरणमा सम्पन्न गराउन सम्पूर्ण सुरक्षा व्यवस्था मिलाइएको प्रशासनले बताएको छ । साथै सुरक्षाको चुनौती भएमा तत्काल खबर गर्न समेत प्रमुख जिल्ला अधिकारी पौडेलले आम मतदातालाई आग्रह गर्नु भएको छ । २ निर्वाचन क्षेत्र रहेको गुल्मीमा दुई सय ७८ वटा मतदान केन्द्र छन् ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २९, २०७९, १५:३४