चुनावको चहलपहल चुलिएको छ । राजनीतिमा लागेकाहरूका लागि त मेला नै लागेको जस्तो देखिन्छ । बिहान सबेरैदेखि राती अबेरसम्म चुनावी प्रचार प्रसार गर्ने र आ–आफ्नो पार्टी र उम्मेदवारलाई जिताउने कसरत गर्न नेता कार्यकर्तालाई भ्याइ नभ्याई छ । पार्टीका फुर्सदिला कार्यकर्ता र कुनै अवसरका पछि कुदिरहेका स्वार्थी र धूर्तहरूलाई त चुनावको धपेडी अझ बढी देखिन्छ । चिया पसलदेखि चोक चौतारीसम्म चुनावी गफ नै सुनिन्छ । सञ्चारमाध्यममा पनि मुख्य खबर पनि निर्वाचनकै विषयमा आइरहेका छन् ।
तर सर्वसाधारण नागरिकमा भने चुनावप्रति खासै उत्साह देखिँदैन । नागरिक अधिकारका रूपमा मतदान गरौँ भन्ने एउटा कुरा हो तर निर्वाचन पछिका आशा अपेक्षा पूरा होलान् भन्ने हिसाबले चाहिँ नागरिकमा निराशा नै बढी देखिन्छ । अझ आफ्नो दैनिकीमा व्यस्त नागरिकलाई त चुनावको रटान घरीघरी त झर्को लाग्दो पनि हुन्छ ।
म २०६४ सालदेखि हरेक निर्वाचनमा मतदान गर्दै आएको छु । हरेक पटक अब आउने नेतृत्वले समुदाय र देशका समस्याको समाधान गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्ला भन्ने आशा र भरोसा थियो । साथी, भाइबहिनी र परिवारका सदस्यलाई पनि मतदान गर्नु हाम्रो कर्तव्य र अधिकार हो भनेर सिकाइयो । देशमा धेरै वटा चुनाव भए, पटक पटक नेतृत्व फेरियो । शासन गर्ने नेताको अनुहार पनि फेरियो तर जनमानसको दुःख फेरिएर सुख फर्किएन । बरु दुःखको प्रकृति फेरियो ।
अहिले गाउँ घरका धेरै घर रित्तिन थाले । मानिस रोजगारी, शिक्षा आदिका लागि सहर पसे । कामको खोजीमा विदेश जानेको सङ्ख्या बढ्यो । अनि छोराछोरीलाई अध्ययन वा अरू बहानामा पनि विदेश पठाउने क्रम पनि बढ्यो । गाउँ रित्तिने र सहरमा चाहिनेभन्दा बढी मानिस थुप्रिने अवस्था अन्त्य हुन सकेको छैन । गाउँघरमै बसेर खेती किसानी गर्ने मन र आँट मानिसमा हराउँदै गयो किनभने खेतीपातीको लागि परम्परागत तरिका बदलिन सकेन । यहाँ आधुनिक प्रविधि भित्र्याउने, खेतीपातीलाई सहज बनाउने र त्यो श्रमको उचित मूल्य निर्धारण गराउने कुनै नेतृत्वबाट विशेष पहल भएन । बरु खेतीको लागि मल दिन नसक्ने, कृषि उत्पादन गरे पनि बजारमा बिचौलियाको प्रभावले उत्पादकले सही मूल्य नपाउने जस्ता समस्या ज्युँका त्युँ छन् । तर नेतृत्वले यस्ता समस्या सम्बोधन गर्न सकेन वा भनौँ गर्नै सकेन ।
हरेक निर्वाचनमा उम्मेदवार र राजनीतिक दलले विकासका धाराप्रवाह भाषण गर्छन् । घोषणापत्रमा लेख्छन् तर त्यसअनुसार व्यवहारमा विकास, परिवर्तन र जीवनस्तर रूपान्तरण गर्न भने चुकिरहेका छन् । केही कामै नभएको होइन तर हुनुपर्ने जस्तो गरी काम हुन नसकेको सत्य हो । जसले गर्दा पनि जनमानसमा निराशा पलाएको हो । यसकै साइड इफेक्टका रूपमा बिदेसिनेको सङ्ख्या बढेको हो ।
हामीले यो गर्यौ त्यो गर्यौँ भनेर भाषण गर्नेहरूले, हामीले यो यो कामहरू गर्ने भनेका थियौँ तर गर्न सकेनौँ भनेर किन भन्दैनन् ? अझै ‘मलाइ त मन्त्री वा प्रधानमन्त्री बन्न मनै थिएन पार्टीले पठायो’ भन्नेहरू धेरै छन् । यो अर्को लाजमर्दो चित्र हो । मङ्सिर ४ मा हुने निर्वाचनको लागि मैले मतदान गर्ने क्षेत्रमा फेरि पनि पुरानै प्रतिस्पर्धीहरू मैदानमा छन् । यसअघि महसुस गर्ने गरिका खास काम केही नगरेका र विकासका नियमित कामलाई नै मेरो योगदान भन्दै व्याख्या गर्ने गरेका उनीहरूलाई फेरि कुन आशाले मत दिने भन्ने प्रश्नको उत्तर अझै पाउन सकेको छैन । शिक्षा, स्वास्थ्य, सार्वजनिक यातायात, रोजगारी लगायत क्षेत्रमा देखिने गरिएको परिवर्तन गराउन नसक्दासम्म नागरिकले विकासको महसुस गर्न कठिन पर्छ । यो कुरा दल र उम्मेदवारले बुझ्दै पर्छ ।
निर्वाचन आउनै लागेको बखत गुनासा र दुखेसाका यी विषय नागरिकले अझ बढी उठाउनु स्वाभाविक हो । निर्वाचन नागरिकको नैसर्गिक अधिकार हो । हामी नागरिकले निश्चित अवधिमा मात्र यो अधिकारको उपयोग गर्न पाउँछाैँ । त्यसैले मताधिकारको उपयोग त गर्नै पर्छ । तर, दल र उम्मेदवारले बुझ्न पर्ने कुरा के छ भने निर्वाचनका बेला गरेका प्रतिबद्धता र बाचा पूरा गर्न अब चाहिँ आनाकानी गर्नु हुँदैन । नागरिकप्रतिको आफ्नो जबाफदेहिता भुल्न हुँदैन ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २९, २०७९, १७:०३