काठमाडौ । नेपालले आज पाकिस्तानविरुद्ध मैत्रीपूर्ण फुटबल खेल्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साँझ ५ः०० नेपालले पाहुना टोली पाकिस्तानको सामना गर्नेछ ।
पाकिस्तान फिफाको निलम्बनबाट फुकुवापछि पहिलो अन्तराष्ट्रिय खेल खेल्नका लागि नेपाल आएको हो । करिब ३ वर्षपछि मैदान फर्किएको पाकिस्तानविरुद्ध नेपाल जित निकाल्ने योजनामा हुनेछ । तर पाकिस्तान विरुद्ध नेपालको नतिजा खासै सकारात्मक छैन ।
नेपालले हालसम्म पाकिस्तानसँग १६ खेलमा प्रतिस्पर्धा गरेको छ । जसमा ४ खेलमा विजयी भएको छ भने ७ खेलमा हार व्यहोरेको छ । बाँकी ५ खेल भने बराबरीमा सकिएका थिए । नेपालले पछिल्लो पटक पाकिस्तानसँग सन् २०१८ मा खेलेको थियो । साफ च्याम्पियनसिप अन्तर्गत ढाकामा भएको खेलमा नेपाल २–१ ले पराजित भएको थियो ।
नेपालले पाकिस्तानसँग पहिलो पटक सन् १९८५ मा खेलेको थियो । जुन खेल २–२ को बराबरीमा सकिएको थियो ।
पछिल्लो फिफा बरियतामा नेपाल एक सय ७५ औं स्थानमा छ भने पाकिस्तान नेपाल भन्दा १९ स्थान तल एक सय ९४ औं स्थानमा छ । पाकिस्तानविरुद्धको खेल दशरथ रंगशालामा नेपालको लागि ५० औं खेल समेत हो ।
प्रकाशित मिति: बुधबार, कात्तिक ३०, २०७९, ०७:३९