काठमाडौँ । युएईसँगको दोस्रो एक दिवसीय क्रिकेटमा नेपाल ३ विकेटले विजयी भएको छ । कीर्तिपुरमा एक सय ९२ रनको लक्ष्य नेपालले १३ बल बाँकी छँदै ७ विकेट गुमाएर पूरा गरेको हो । आजको जितसँगै तीन खेलको शृङ्खला १–१ को बराबरीमा पुगेको छ ।
नेपालको जितमा गुल्सन झाले ३७, कुशल भुर्तेलले ३५, आरिफ सेखले अविजित ३३ र ज्ञानेन्द्र मल्लले २६ रन बनाउनुभयो । यस्तै सोमपाल कामीले अविजित रहँदै १६ रन बनाएको खेलमा कप्तान रोहित पौडेलले ८ र दीपेन्द्रसिंह ऐरीले १३ रनको योगदान गर्नुभयो ।
नेपालको सुरुवात भने राम्रो हुन सकेन । एक रन पनि नजोड्दै ओपनर अर्जुन साउद शुन्य रनमा आउट भएको खेलमा अर्का ओपनर आसिफ सेखले ६ रन मात्रै बनाएपछि नेपाल १३ रन जोड्दा २ विकेट गुमाएको अवस्थामा पुगेकाे थियो । नेपालले ४४ रन हुँदा तेस्रो र ५४ रन हुँदा चाैथो विकेट गुमाएको थियो ।
युएईका रोहन मुस्ताफाले ३ तथा हजरत बिलालले २ विकेट लिनुभयो ।
टस जितेर पहिले ब्याटिङ गरेको युएईले ४३ ओभर २ बलमा अल आउट हुँदै एक सय ९१ रन बनाएको थियो । ओपनर ब्याटर मोहमद वासिमले ५० र अलिसान सरफुले ३५ रन बनाउनुभयो । नेपालका सोमपाल कामी र ललितनारायण राजबंशीले तीन/तीन विकट लिँदा करण केसी, गुल्सन झा, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले एक/एक विकेट बनाउनुभयो ।
पहिलो खेलमा नेपाल ८४ रनले पराजित भएको थियो । शृङ्खलाको तेस्रो तथा अन्तिम खेल शुक्रवार हुनेछ ।
प्रकाशित मिति: बुधबार, कात्तिक ३०, २०७९, १६:३०