पवित्रा पराजुली
नवलपुर । नवलपुरको हुप्सेकोट गाउँपालिका–१ जुकेपानीका १८ परिवार अस्थायी टहरामा बस्दै आएका छन् । गत बर्खा याममा हुप्सेकोट–५ वाक खोरमा पहिरोले विस्थापित बनाएपछि उनीहरूलाई निर्वाचनमा कसलाई मत हाल्ने भन्दा पनि टहरामा कसरी जाडो कटाउने भन्ने चिन्ता धेरै छ ।
५५ वर्षीय खगिसरा रानाको परिवार, पहिरोले विस्थापित भएर शिवालय सामुदायिक वन नजिकैको अस्थायी टहरामा बस्न थालेको १५ महिना भयो । जसोतसो बर्खा बिताए पनि हिउँदको जाडो कसरी छल्ने चिन्ता छ । गत असारमा वाक खोरमा गएको पहिरोमा घर परेपछि उहाँको सहित १८ परिवार विस्थापित हुनुपरेको हो ।
खेमबहादुर सोमैलाई वाक खोरमा जग्गा भए पनि पहिरोको डरले फेरि फर्कन मन छैन । उहाँ राज्यले स्थायी बसोबासको प्रबन्ध मिलाइदिनुपर्ने बताउनुहुन्छ । निर्वाचन नजिकिँदै गर्दा जुकेपानीका पहिरो प्रभावितको अस्थायी टहरामै पुगेर उम्मेदवारले भोट मागे । समस्या समाधान गर्ने आश्वासन पनि देखाए । तर, स्थानीय विश्वस्त छैनन् ।
पहिरोका कारण लालपुर्जा भएको जग्गा नै छोडेर गाउँपालिकाले बनाइदिएको अस्थायी टहरामा बस्नुपर्ने बाध्यता रहेको र टहरामा जीवन धान्न कठिन भइरहेको २६ वर्षका तिलबहादुर सोमैले बताउनुभयो ।
पहिरो प्रभावितलाई रोजगारी दिन राज्यले पहल नगरेको गुनासो गर्ने पहिरो प्रभावितहरू उम्मेदवारले भरपर्दो एजेन्डा ल्याउन नसकेको बताउँछन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९