काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसारसम्बन्धी कुनै पनि सामग्री फेसबुक, ट्वीटर, युट्युबलगायतका सामाजिक सञ्जालमा नराख्न तथा साझा नगर्न अनुरोध गरेको छ ।
गएराति १२ बजेदेखि स्थिर समय सुरु भएका कारण प्रचार सामग्री शेयर, ट्याग, लाइक, कमेन्ट वा प्रतिकमेन्ट नगर्न वा नगराउन सर्वसाधारणलाई आह्वान गर्ने निर्णय भएको हो ।
आयोगका प्रवक्ता शालिग्राम शर्माले आचारसंहिता विपरित निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गरेमा तत्काल जरिवाना गरी सोको जानकारी आयोगमा गराउन सम्पूर्ण निर्वाचन अधिकृत तथा अनुगमन अधिकृतहरूलाई निर्देशन दिइएको बताउनुभयो ।
सामाजिक सञ्जाल तथा अनलाइन सञ्चारमाध्यमबाट कुनै राजनीतिक विज्ञापन नगर्ने नगराउने, यसअघि गरिएका यस्ता विज्ञापन हटाउन सम्बन्धित सञ्चारमाध्यमलाई अनुरोध गर्ने र सोको अनुगमन गर्न विज्ञापन बोर्डलाई निर्देशन दिने निर्णय पनि आयोगले गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २, २०७९, ०९:१५