अछाम । सुरक्षाको कारण देखाउँदै अछामको चौरपाटी गाउँपालिका ३ डुङ्ग्रीका साढे ६ सय मतदाताले मतदान नगर्ने बताएका छन् ।
डुङ्ग्रीका मतदाता समेतका लागि गगुडा माविमा मतदान केन्द्र तोकिएको तर, यसअघिको निर्वाचनमा गगुडाबासीले आफुहरूलाई मतदान गर्नै नदिएकाले अर्को ठाउँमा मतदान केन्द्र तोक्न माग गरेपनि निर्वाचन कार्यालयले नतोकेपछि मतदान नगर्ने निर्णय गरिएको डुङ्ग्रीका शेरबहादुर साउदले सीआईएनसँग बताउनुभयो ।
बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा समेत झडप भएको र यसपटक पनि त्यस्तो खतरा रहेकाले आफुहरू मतदान गर्न जान नसक्ने अवस्था रहेको कुँवरको भनाइ छ ।
तर, जिल्ला प्रशासन कार्यालय अछामले भने यसबारेमा कुनै जानकारी नआएको बताएको छ । जिल्ला प्रशासन कार्यालय अछामका प्रशासकीय अधिकृत दीपेन्द्र रिजालले यसबारेमा थप जानकारी पनि लिने र सबै मतदान केन्द्रमा सुरक्षा ब्यवस्था बलियो बनाइएकाले मतदान गर्न डुङ्ग्रीका मतदातालाई आग्रह गर्नुभयो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २, २०७९, १३:०९