काठमाडौँ । पर्सि हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थापनका बारेमा निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तहरूसँग नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मासहितको टोलीले भेटवार्ता गरेको छ ।
आयोगको कान्तिपथस्थित कार्यालयमा भएको भेटमा प्रधानसेनापति शर्माले निर्वाचन सुरक्षाका लागि नेपाली सेनाले गर्दै आएको काम कारवाहीबारे जानकारी गराउनु भएको हो ।
हालसम्मको स्थलगत निरीक्षण र प्राप्त सूचनाका आधारमा निर्वाचनको सुरक्षा चुस्त रहेको र निर्वाचन सुरक्षित वातावरणमा सम्पन्न गराउन सेनाका तर्फबाट खेल्नुपर्ने भूमिका निर्वाह गर्न तयार रहेको प्रधानसेनापति शर्माको भनाइ रहेको आयोगले जनाएको छ ।
भेटमा प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन सुरक्षा व्यवस्थापनका लागि मतपत्र छपाइ, ढुवानी, निर्वाचन सामग्रीहरूको जाँच तथा प्याकेजिङ कार्य तथा दुर्गम हिमाली जिल्लामा मतपत्र र मतदान सामग्रीहरू एवं खटिएका कर्मचारीहरूसमेत पु-याउन नेपाली सेनाबाट प्राप्त सहयोगको प्रशंसा गर्नुभयो ।
निर्वाचन आयुक्तहरू ईश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी र सगुन शम्सेर जबराको पनि भेटवार्तामा उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २, २०७९, १३:४७