काठमाडाैँ । युएईसँगको तीन खेलको एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट शृंखला नेपालले जितेको छ ।
कीर्तिपुरमा शुक्रबार भएको तेस्रो तथा अन्तिम खेलमा युएईलाई ६ विकेटले हराउँदै नेपालले शृंखला २-१ ले जितेको हो ।
१ सय ७७ रनको लक्ष्य नेपालले ४० ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गरेको हो । नेपालको जितमा आसिफ शेखले अविजित ८८ रन बनाउनुभयो । यस्तै ज्ञानेन्द्र मल्लले ६४ रन बनाउनुभयो । यस्तै, रोहित पाैडेलले १०, अर्जुन साउदले ९ रन बनाउँदा दिपेन्द्रसिंह एेरी शुन्यमा रनआउट हुनुभयो ।
आसिफले १ सय १९ बलमा १२ चौका प्रहार गर्दै ८८ रन बनाउँदा ज्ञानेन्द्रले ७३ बलमा ७ चौका र ३ छक्का प्रहार गर्नुभयो ।
टस हारेर पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ७६ रन बनायो । युएईका आयन अफजल खानले अविजित ५४, अलिशन शराफुले ३३ र रोहन मुस्तफाले २४ रन बनाउनुभयो ।
९३ रन जोड्दा ९ विकेट गुमाएको युएईका लागि आयन र हजरतले अन्तिम विकेटका लागि अविजित ८३ रनको साझेदारी गर्नुभएको थियो ।
नेपालका गुलशन झा, दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले दुई दुई तथा सोमपाल कामी र ललितनारायण राजवंशीले एक एक विकेट लिनुभयो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २, २०७९, १५:५०