सुसिला श्रेष्ठ, काठमाडौ/ममता भट्ट, डडेल्धुरा
काठमाडाैँ । गाउँमा आम्दानीको अवसर नभएपछि डढेलधुराको अजयमेरु गाउँपालिकाका चन्द्र नाथ भारत जान लाग्नुभएको छ । छोराछोरी घरको काम भ्याएर विद्यालय जान सक्ने भएकाले आफू भारत जान लागेको उहाँ बताउनुहुन्छ । अब दुई/तीन वर्ष उतै काम गर्ने उहाँको योजना छ ।
भारत जाँदै गर्दा डडेलधुरा सदरमुकामको बसपार्कमा भेटिएका अमरगढी नगरपालिका–५ का रोशन विष्टले रोजगारी नै छोडेर चुनावका लागि रोकिन नसकेको बताउनुभयो । केही समय अघि मुम्बईबाट फर्किएका विष्ट चाडबाड मनाइसकेर अनि अन्नपात थन्क्याइसकेर फेरि मुम्बई नै फर्किन लाग्नुभएको हो ।
मोरङको रङ्गेलीका बलराम साहलाई मन परेको नेतालाई मत हाल्ने मन थियो तर चुनाव र भिसा सँगसँगै आइपुग्यो । विदेश लाग्नुको विकल्प भएन ।
गाउँघरमै विकास, रोजगारी र सम्वृद्धिकाे नारा बोकेर उम्मेदवार गाउँ पस्दै गर्दा डडेल्धुराका ग्रामीण क्षेत्रका युवा भने कामका लागि भारत जान पोका पन्तुरा कसिरहेका छन् । उम्मेदवार र राजनीतिक दलले गाउँमै रोजगारी दिने सपना देखाइरहे पनि त्यसैको भर परेर गाउँमै बस्ने अवस्था नरहेको उनीहरू बताउँछन् ।
सुदूरपश्चिमका हजारौँ युवाका लागि भारत श्रमको भरपर्दो गन्तव्य हो । कैलाली र कञ्चनपुर भन्सार नाकाबाट दिनहुँ आठ सयभन्दा बढी युवा कामको खोजीमा भारत गइरहेको भन्सार कार्यालयले जनाएको छ । उम्मेदवारका लोभ लाग्दा नारा र मिठा कुरासँग आफूहरूको बाध्यताको तारतम्य नमिलेको रोजगारीका लागि भारत जाँदै गरेका आलितालका माधु भट्ट बताउनुहुन्छ ।
कामको खोजीमा सुदूरपश्चिमबाट युवा मात्र होइन किशोर र कतिपय बालक पनि भारत जाने गरेका छन् । यो बाध्यताले गर्दा उनीहरूको पढाइ छुट्ने गरेको छ । जति निर्वाचन भए पनि र व्यवस्था फेरिए पनि, जीविकोपार्जनका लागि भारत जानै पर्ने यहाँका युवाको अवस्था भने ज्युँ का त्युँ छ ।
मतदानका लागि कतिपय मतदाता सहरबाट गाउँ फर्किरहेका छन् । तर, चुनावको सङ्घारमै रोजगारीका लागि परदेसिनुपर्नेको व्यथा उस्तै छ । जहाज चढेर सात समुद्र पारीको यात्रामा निस्किएकाहरूलाई भोटकोभन्दा पनि भोको पेटको चिन्ता धेरै देखिन्छ । झोला सहितको ‘ट्रली’ गुडाउँदै विमानस्थलको प्रवेशद्वारतिर अघि बढेका घरानका आइतराज तामाङकी सानी छोरी रोइरहेकी थिइन् । परिवारको खुसीका लागि कमाउन बिदेसिनु पर्दा आफ्नासँगको बिछोडले भतभती मन पोल्छ । तर पनि बिदेसिनुको विकल्प नभएपछि मन बुझाउनुको विकल्प नभएको उहाँले बताउनुभयो । २ वर्षकी छोरी, श्रीमती र आमाको सुन्दर भविष्यको कल्पना गर्दै उहाँ दक्षिण कोरियाका लागि उड्नुभएको हो ।
मोरङको रङ्गेलीका बलराम साहलाई मन परेको नेतालाई मत हाल्ने मन थियो तर चुनाव र भिसा सँगसँगै आइपुग्यो । विदेश लाग्नुको विकल्प भएन । १९ वर्ष अघि कामका लागि पहिलो पटक बिदेसिएका साहलाई अहिलेसम्म नै बिदेसिनुपर्ने बाध्यता छ । कारण, अहिले पनि नेपालमा रोजगारी पाइएन । प्रतिनिधि सभा र प्रदेश सभाका अघिल्ला निर्वाचनमा मतदान गरेको तर त्यस बेलाको आशा विजयी हुनेले पुरा नगरेको उहाँ बताउनुहुन्छ ।
त्रिभुवन विमानस्थलमा भेटिएका सिराहाका शिवकुमार साह पनि निर्वाचनका बेला बिदेसिनु पर्दा खिन्न हुनुहुन्छ । तर, उहाँलाई त्योभन्दा बढी खिन्नता छ, अघिल्लो चुनावमा नेताले गरेको रोजगारीको बाचा पूरा नभएकोमा । १९ वर्ष खाडी मुलुकमा बिताएका कठायत अझै पनि नेपालमै रोजगारी गर्ने सपना पूरा नभएको बताउनुहुन्छ । देशमै ३०–३५ हजारको काम पाए बिदेसिनु नपर्ने उहाँ बताउनुहुन्छ ।
नेपालको संविधानले हरेक नागरिकलाई रोजगारी र मताधिकारको प्रयोग गर्न पाउने हकको व्यवस्था गरेको छ । तर यी दुवै अधिकार आफूले प्रयोग गर्न नपाएकोमा धनकुमार राईको चित्त दुखाई छ । उहाँ, स्वदेश मै राख्न रोजगारी दिन नसक्ने सरकारले कम्तीमा विदेशमा रहेका नेपाली मतदातालाई अनलाइन मार्फत भोट हाल्न पाउनुपर्ने व्यवस्था गर्नुपर्ने बताउनुहुन्छ ।
देश निर्वाचनमय भइरहे पनि कामको खोजीमा बिदेसिनेलाई रोक्न सकिएको छैन । वैदेशिक रोजगार विभागका अनुसार हाल दैनिक औसतमा दुई हजार नेपाली रोजगारीका लागि विदेश गई रहेका छन् । दसैँ तिहार पछि बिदेसिने युवाको सङ्ख्या त्यसअघिको तुलनामा २५ प्रतिशतले बढेको विभागले जनाएको छ ।
निर्वाचनको समय महत्त्वपूर्ण समय भए पनि बिदेसिने युवाको दर नघटेको विभागका प्रवक्ता कृष्णप्रसाद भुसालले बताउनुभयो । वैदेशिक रोजगारीमा जान अहिल्यै रोक्न नसके पनि बिदेसिएकालाई मतदानको अधिकार दिन सके उनीहरूको मतदानको अधिकार सुनिश्चित हुने थियो भन्ने चर्चा चल्न थालेको धेरै भयो । तर यसको कार्यान्वयन अझै हुन सकेको छैन ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २, २०७९, १८:४९