जुम्ला । जुम्लाको हिमा गाउँपालिका वडा नम्वर ७ का सुर्य अधिकारी ह्वील चियरमा आवतजावत गर्नुहुन्छ । उहाँ र उहाँ जस्तै धेरै मतदाता मताधिकारबाट बञ्चित हुने अवस्था आएको छ । कारण, जुम्लामा अपाङ्गतामैत्री मतदान स्थल बनार्ईएको छैन ।
जुम्लामा कुल ६८ हजार ६ सय ३८ मतदाता मध्य तीन हजार मतदाता अपाङ्गता भएका छन् । तर कुनैपनि मतदान स्थल अपाङ्गता मैत्री छैनन् । अपाङ्ग पुर्नस्थापना कार्यालय जुम्लाका निवर्तमान अध्यक्ष नन्दराज धितालका अनुसार जुम्लामा अपाङ्गता भएका व्यक्तिको जनसङ्ख्या आठ हजार रहेको छ, त्यसमा तीन हजार मतदाता छन् । जसमध्ये एक हजार मतदाता जेनतेन मतदान स्थलसम्म पुग्न सक्ने अवस्थामा छन्, तर कम्तिमा पनि दुई हजार मतदाता मतदानबाट बञ्चित हुने देखिएको छ ।
अपाङ्गता भएका व्यक्तिलाई सहज रुपमा मतदान गर्नका लागी अपाङ्गतामैत्री मतदान स्थल हुनुपर्ने सरकारी नियम छ । तर, मतदान सम्पन्न गर्ने जिम्मेवारी प्राप्त गरेका सरकारी निकायले अपाङ्गतामैत्री मतदान स्थल बनाउन प्रयास नगरेको अपाङ्ग पुर्नस्थापन विकास केन्द्र जुम्लाका अध्यक्ष रामकृष्ण न्यौपाने बताउनुहुन्छ ।
जिल्ला निर्वाचन कार्यालय जुम्लाका सुचना अधिकारी अभिनन्द चौलागाई भौगोलिक कठिनाईका कारण जुम्लामा अपाङ्गता मैत्री मतदान स्थल बनाउन नसकिएको बताउनुहुन्छ । जुम्लामा ८३ मतदान स्थल र एक सय ६ मतदान केन्द्र छन् । कुनै पनि मतदान स्थल र मतदान केन्द्र अपाङ्गतामैत्री नहुँदा मताधिकार बाट बञ्चित हुने चिन्ता अपाङ्गता भएका मतादाताको छ ।
देशभर कुल मतदाताको दुई प्रतिशत अर्थात् झन्डै ३ लाख ६० हजार मतदाता अपाङ्गता भएका छन् । दुर्गम क्षेत्रका सबै जसो मतदात केन्द्र अपाङ्गतामैत्री नहुँदा अधिकांश अपाङ्गता भएका मतदाताले मतदान गर्नसक्ने अबस्था छैन । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मतदानस्थललाई अपाङ्गतामैत्री बनाउन सक्दो प्रयास गरिएको छ । तर भौगोलिक रुपमा विकट क्षेत्रमा भने समस्या छ ।
हिमाली जिल्लामा चिसो बढ्यो, दुई दिन धैर्य गर्न मतदातालाई आयोगको आग्रह
हिमाली जिल्लामा हिमपात हुन थालेपछि निर्वाचन सम्पन्न गराउन चुनौति देखिएको छ । मनाङ, मुस्ताङ, डोल्पा लगायत हिमाली जिल्लाका माथिल्लो क्षेत्रमा बिहान बेलुकाको तापक्रम माईनसमा झरेको छ । त्यहाँका स्थानीय जाडो छल्न भन्दै तल्लो क्षेत्रमा झर्न थालेका सामुदायिक रेडियोहरुले खबर पठाएका छन् ।
सीआईएनसँग कुरा गर्दै, प्रमूख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले सबै क्षेत्रमा मतदानका लागि कर्मचारी पुगिसकेकाले दुई दिन धैर्य गरेर मतदान प्रक्रियामा सहभागि बन्न स्थानीयबासीलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो ‘मतदाता चिसो छल्ल तल्लो क्षेत्रमा झरिरहेको हामीले पनि सुनेका छौँ, जुन गम्भीर विषय हो । कम्तिमा दुई दिन कष्ट सहेर भएपनि निर्वाचन प्रक्रियामा सहभागि हुन उहाँहरुलाई आग्रह गर्छु’ ।
प्रकाशित मिति: शनिबार, मंसिर ३, २०७९, ०८:१५