काठमाडौ । भोली हुने निर्वाचनमा देशभर चार लाख ५० हजार नागरिक अस्थाई मतदाताका रुपमा मतदानमा सहभागी हुँदैछन् ।
निर्वाचन आयोगले सरकारी कर्मचारी, सुरक्षाकर्मी, कैदी बन्दीलाई अस्थायी मतदाताकारूपमा आफु भएकै ठाउँबाट समानुपातिकतर्फ मतदान गर्न पाउने व्यवस्था गरेको छ ।
तर, अझै लाखौँ मतदाता यसपटक पनि मतदानको अधिकारबाट बञ्चित भएका छन् । घरबाट टाढा रहेका तर निर्वाचनका लागि घर जाने आउने समय र खर्च नभएका नागरिकले पनि मतदानको अधिकार उपभोग गर्न पाएका छैनन् ।
काठमाडौँमा कार्यरत डोटीका डाक्टर अनिलकुमार भट्टले भोलि समेत विरामी जाँच गर्नुपर्ने भएकाले मतदान गर्न घर जान नसक्ने बताउनुभयो । ‘एक त डोटी पुग्न यातायातकै सास्ती छ, खर्च उस्तै ।’ सीआईएनसँग उहाँले भन्नुभयो, ‘सबैभन्दा मुख्य समस्या बिरामीको हुन्छ ।’
त्यस्तै पत्रकार, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, नीजि क्षेत्रमा कार्यरत कर्मचारी, मजदुरलगायत कार्यस्थलमा खटिएकाहरू मतदानबाट बञ्चित हुनुपर्ने बाध्यता छ ।
पत्रकार गोमा परियार, निर्वाचन आयोगले आफुहरूलाई कार्यक्षेत्रकै मतदान केन्द्रबाट मतदान गर्न पाउने ब्यवस्था मिलाउनुपर्ने बताउनुहुनछ । ‘यो समयमा समाचारका बुलेटिनहरू थपिएका छन् । निर्वाचन विशेष कार्यक्रमहरू गरिरहेका छौँ । घर जाने फुर्सद नै हुँदैन ।’ उहाँले भन्नुभयो देशबाहिर रहेका लाखौँ नागरिकले पनि मतदान गर्न पाउनुपर्ने माग भइरहेको छ । यो बहस चलिरहँदा निर्वाचन आयोगले देशभित्रैका सबै मतदाताले मतदान गर्न पाउने अवस्था बनाउन सकेको छैन ।
निर्वाचनमा सकेसम्म सबै मतदातालाई समेट्नुपर्ने भएपनि कानुन अभावमा त्यो गर्न नसकिएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सीआईएनललाई बताउनुभयो ।
प्रकाशित मिति: शनिबार, मंसिर ३, २०७९, ०८:३०