काठमाडाैँ । निर्वाचनमा खटिएका दुई जना कर्मचारीको मृत्यु भएको छ । सोलुखुम्बु र धनकुटामा खटिएका दुई कर्मचारीको मृत्यु भएको प्रहरीले जनाएको छ । सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका वडा नम्बर ४ मा मतदान अधिकृतका रूपमा खटिएका सर्लाही हरिपुर्वा ५ का ५६ वर्षका बिल्टु रायको मृत्यु भएको हो ।
राय सुतेकै ठाउँमा मृत भेटिएको सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक सुनिलजङ्ग शाहले जानकारी दिनुभयो । आयुर्वेद स्वास्थ्य केन्द्र नेचामा कार्यरत राय आफु खटिएको सामुदायिक वन मतदान केन्द्रमै सुत्नुभएको थियो ।
रायलाई बिहान ४ बजे अन्य कर्मचारी उठाउन जाँदा मृत अवस्थामा भेटिएको हो । रायले लामो समयदेखि मधुमेह र मुटुको औषधि प्रयोग गर्दै आएको खुलेको पनि प्रहरीले जनाएको छ ।
यस्तै, धनकुटाको साँगुरी गढी गाउँपालिका– ३ को सिद्धेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा खटिएका पवित्रा याख्खा लिम्बूको मृत्यु भएको धनकुटाका प्रहरी उपरीक्षक लक्ष्मीराज अधिकारीले जानकारी दिनुभयो । उहाँको हिजो अपराह्न मृत्यु भएको हो ।
प्रकाशित मिति: शनिबार, मंसिर ३, २०७९, ११:५४