वर्ष, महिना, हप्ता गर्दै निर्वाचनको दिन टुप्लुक्क आइपुगेको छ । नयाँ आशा र नयाँ उत्साह बोकेर आइपुगेको यो दिन आफैँमा महत्त्वपूर्ण दिन हो । प्रतिनिधि सभा र प्रदेश सभामा आफ्ना प्रतिनिधि छान्ने यो दिन आउन पाँच वर्ष लाग्छ । एकातिर पाँच वर्षमा बल्ल आउने अनि अर्कोतिर आफ्ना प्रतिनिधि आफैँ छान्न पाउने भएकाले निर्वाचन नागरिक ‘सार्वभौमसत्ता सम्पन्न’ भएको दसी पनि हो ।
निर्वाचन लोकतन्त्रको मुख्य सर्त र आधार पनि हो । देशको भविष्य तय गर्ने शासक चुन्ने यो जत्तिको उन्नत अर्को तरिका छैन । त्यसैले मतदाताले मतदान गरेर निर्वाचनलाई उत्सवका रूपमा मनाउनुपर्छ ।
हो, निर्वाचनबाट चुनिएकाहरूले नागरिकका आशा, अपेक्षा र आफैँले गरेका प्रतिबद्धता पूरा गरिरहेका छैनन् । जसले गर्दा मतदातामा निराशा र दिक्दारी मात्र छैन कतिपयमा आक्रोश पनि देखिन्छ । आक्रोशलाई आवेगमा होइन विवेकमा परिणत गर्ने अवसर पनि निर्वाचन नै हो । निर्वाचनले राम्रो गर्नेलाई प्रोत्साहन गर्दैन मात्र, राम्रो नगर्नेलाई सच्चिने अवसर पनि दिन्छ । धेरै मत पाउनेलाई शासन गर्ने अधिकार अनि कम मत पाउनेलाई थप प्रयत्न गर्ने भद्र सन्देश पनि निर्वाचनले नै दिने हो ।
निर्वाचनले दल र उम्मेदवारलाई नागरिकप्रति उत्तरदायी, पारदर्शी र जबाफदेही बन्न बाध्य पनि बनाउँछ । नागरिकप्रति अनुत्तरदायी प्रतिनिधि निर्वाचनमार्फत नै परास्त हुन्छन् । त्यसैले निर्वाचन सुशासनको चाबी पनि हो । अतः लोकतन्त्रमा विश्वास गर्ने जो कोहीले आफ्नो नैसर्गिक अधिकार व्यक्त गर्ने यो सर्वोच्च अवसर गुमाउनु हुँदैन उपयोग गर्नुपर्छ । बरु, आफ्नो क्षेत्रमा उठेका उम्मेदवारमध्ये भरोसायोग्य र विश्वासयोग्य अनि आशालाग्दा उम्मेदवार छानेर मतदान गरौँ । प्रतिनिधि सभा र प्रदेश सभामा उम्मेदवारलाई मात्र होइन समानुपातिकतर्फ दललाई पनि मतदान गर्नुपर्छ । समानुपातिकतर्फ दल छनोट गर्दा पनि मतदाताले विवेक प्रयोग गर्न बिर्सनु हुँदैन ।
भुल्न नहुने कुरा के हो भने, मतदाताले कुनै दल वा उम्मेदवार वा दुवैसँग दिक्क मानेर मतदान नै नगर्ने निर्णय गर्नु हुँदैन । किनभने मतदाताले मतदान नगर्दा अयोग्य उम्मेदवार चयन हुने खतरा उत्तिकै रहन्छ । जसको अर्थ हो अबका पाँच वर्ष खेर जानु । त्यस बेला पुर्पुरोमा हात राखेर आफैँसँग गुनासो गर्नुको विकल्प हुँदैन । त्यसैले, क्षणिक फाइदा वा अन्य कुनै पनि आकर्षणमा लोभिएर मतदान गर्नु हुँदैन । बरु, मतदान गर्नु अघि उम्मेदवार र दलको योग्यता, क्षमता, उनीहरूका योजना र बाचा अनि ती योजना र बाचा पूरा गर्ने उनीहरूका कार्य योजना केलाउनुपर्छ कसलाई मतदान गर्ने भन्ने निर्क्योल गर्नुपर्छ ।
निर्वाचनलाई निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्नु निर्वाचन आयोगको मुख्य दायित्व हो । यो दायित्व पूरा गर्न आयोग चुक्न हुँदैन । साथै, निर्वाचनमा हुन सक्ने अवाञ्छित गतिविधि रोक्न सचेत मतदाताको पनि महत्त्वपूर्ण भूमिका हुन्छ । त्यसैले यो दायित्वबाट पनि मतदाता विमुख हुन मिल्दैन ।
प्रकाशित मिति: शनिबार, मंसिर ३, २०७९, १९:०२