काठमाडाैँ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चयन गर्ने निर्वाचन अन्तर्गत देशैभर मतदान सुरु भएको छ ।
बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्ने निर्वाचन आयोगले जनाएको छ । देशभर १० हजार ८९२ वटा मतदान स्थलमा २२ हजार २२७ वटा मतदान केन्द्र तोकिएको छ । यस्तै कर्मचारी, सुरक्षाकर्मी, कारागार र वृद्धाश्रमहरूमा गरी १४१ वटा अस्थायी मतदान स्थल तोकिएको छ । चुनावमा २ लाख ४६ हजार ९६० जना कर्मचारी खटिएका छन् ।
प्रतिनिधिसभाकाे प्रत्यक्षतर्फ १६५ सिटमा २४१२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । जसमा १ हजार ५४५ जना विभिन्न दलका र ८६७ जना स्वतन्त्र उम्मेदवार छन् ।
यस्तै, प्रदेश सभाका ३३० सिटका लागि ३२२४ जना उम्मेदवार छन् । त्यसमध्ये २ हजार १३० जना राजनीतिक दलका र १ हजार ९४ जना स्वतन्त्र उम्मेदवार रहेका छन् ।
यस पटक एक करोड ७९ लाख ८८ हजार ५७० हजार मतदाता रहेको आयोगले जनाएको छ । जसमा ९१ लाख ४० हजार ८०६ पुरुष, ८८ लाख ४७ हजार ५७९ जना महिला र १८५ जना अन्य छन् ।
निर्वाचनको सुरक्षा व्यवस्था कडा पारिएकोले ढुक्क भएर मतदान गर्न निर्वाचन आयोगले अनुरोध गरेको छ । निर्वाचन सुरक्षाका लागि नेपाली सेनाका ७४ हजार ८४९, नेपाल प्रहरीका ७१ हजार ६९३, सशस्त्र प्रहरी बलका ३५ हजार ११६, राष्ट्रिय अनुसन्धान विभागका १ हजार ८२१ खटिएका छन् । त्यस्तै १ लाख १५ हजार म्यादी प्रहरी पनि सुरक्षामा खटाइएको छ ।
विभिन्न दलका नेता, उम्मेदवारलगायत आआफ्नाे नाम भएको मतदान केन्द्रमा पुगेर मतदान गरिरहनुभएको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर ४, २०७९, ०८:१९