जीवन खत्री
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ४ मा ४ जना किरिया पुत्रीले मतदान गरेका छन् । आमाको किरिया बसेका चूर्णप्रसाद श्रेष्ठ, कमल श्रेष्ठ, मानबहादुर श्रेष्ठ, पुर्णप्रसाद श्रेष्ठले आआफ्ना श्रीमतीसहित मतदान केन्द्रमा पुगेर मतदान गर्नुभएको हो ।
उहाँहरूले कालिकादेवी मा।वि मतदान केन्द्रमा पुगेर मतदान गर्नुभएको हो । उहाँहरू ३ दिनदेखि आमाको मृत्युको शोकमा हुनुहुन्थ्यो । मतदानको अनुभव सुनाउँदै कमल श्रेष्ठले भन्नुभयो( ‘दुखको घडीमा पनि स्पष्ट भिजन मिसन भएको नेतृत्व जिताउन मतदान गर्न आएको हो ।’
चुर्णप्रसादले आमा बितेको बेला पनि राज्य चलाउन आफ्नो मतको महत्त्व बुझेर मतदानमा सहभागी भएको बताउनुभयो ।
जीवनको सबैभन्दा दु:खद क्षणमा पनि मतदान गर्न मतदान स्थल पुग्नुभएका उहाँहरूले आफ्नो मतले आगामी ५ वर्षका लागि देशको भविष्य निर्धारण गर्ने बताएका छन् । मतदान भनेको यो युगको जिम्मेवारी भएकोले मतदान गरेर उत्साहित भएको उनीहरूको भनाई थियो । आफ्नो परम्परा अनुसार कसैलाई नछोई मतदान गर्ने वातावरण बनाइएको उहाँहरूले जानकारी दिनुभयो ।
प्रकाशित मिति: आइतबार, मंसिर ४, २०७९, १३:४५