काठमाडौँ । हिजो भएको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको मतगणना अधिकांश स्थानमा आज बिहानबाट सुरु हुँदैछ ।
निर्वाचन आयोगका अनुसार मतदान स्थगित भएका स्थानमा बाहेक अरु क्षेत्रको मतगणना कार्य आज सुरु गर्न भनिएको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार काठमाडौँ निर्वाचन क्षेत्र नं ७ को मतगणना आज बिहानैबाट सुरू भएको छ।
काठमाडौँ महानगरपालिका १६ नयाँबजारस्थित जुडो हलमा मतगणना सुरू गरिएको निर्वाचन अधिकृत उषा श्रेष्ठले बताउनुभयो ।
यो क्षेत्रमा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का अस्मिता सिंह (मानुषी) यमि भट्टराई, नेकपा (एमाले)का श्यामकुमार घिमिरे, जनता समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठ, स्वतन्त्र उम्मेदवार रामवीर मानन्धरलगायत प्रतिस्पर्धामा छन्।
ललितपुर क्षेत्र नम्बर ३ को पनि मतगणना पनि सुरू भइसकेको छ। ललितपुर महानगरपालिका २०, २१ र २२ को प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतगणना सुरु गरिएको निर्वाचन अधिकृत धर्मराज पौडेलले बताउनुभयो ।
ललितपुर निर्वाचन क्षेत्र नं २ को पनि मतगणना सुरू भएको छ। ललितपुरको सादोबाटोस्थित राष्ट्रिय खेलकूद परिषद्को परिसरमा रहेको मतगणनास्थलमा मतगणना थालिएको निर्वाचन अधिकृत दीपशिखा मुनाकर्मीले जानकारी दिनुभयो ।
भक्तपुरमा क्षेत्र नम्बर २ को पनि मतगणना पनि सुरू भएको छ। मध्यपुरथिमि नगरपालिका बोडेस्थित नेपाल कृषि विकास बैंकको तालिक केन्द्रमा बिहान १ बजेर ५० मिनेटमा मतगणना सुरू भएको हो ।
भक्तपुर क्षेत्र नं २ मा सत्ता गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका सभापति दुर्लभ थापा र नेकपा (एमाले) का तर्फबाट एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेतबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।
प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९, ०७:५६