रेडियो लम्जुङ । लमजुङको दूधपोखरी गाउँपालिका–१, मलेया डाँडामा रहेको घुम्ती भेडीगोठका २८ वटा भेडा चट्याङ लागेर मरेका छन् ।
गएको वैशाख २८ गते शनिबार साँझ परेको चट्याङ लागेर भेडीगोठका २८ वटा भेडा मरेको दूधपोखरी गाउँपालिका पशु सेवा शाखाका नायब पशु स्वास्थ्य प्राविधिक दिनेश गुरुङले जानकारी दिनुभयो ।
चट्याङ लागेर भेडा मरेको खबर पाएसँगै वैशाख ३० गते गुरुङसँगै दोर्दी गाउँपालिका पशु सेवा शाखाका नायब पशु स्वास्थ्य प्राविधिक विनोदप्रसाद कट्टेल र भेडापालन समूहका १३ जना किसान १२ घण्टा पैदल हिँडेर भेडीगोठ पुग्नु भएको थियो ।
‘भेडा मरेको खबर पाएसँगै १५ जनाको टोली भेडीगोठमै पुग्यौँ । चट्याङ लागेर २८ वटा भेडा मरेको पायौँ । धेरै माउ भेडा मरेका छन ।’, दूधपोखरी गाउँपालिका पशु सेवा शाखाका नायब पशु स्वास्थ्य प्राविधिक गुरुङले भन्नुभयो ‘भेडा मर्दा झण्डै साँढे ५ लाखभन्दा बढीको क्षति भएको छ ।’
भेडा मर्दा किसान चिन्तित बनेका छन् । सम्बन्धित निकायबाट केही सहयोग पाउने आशामा किसानहरु रहेका छन् । उनीहरूले सञ्चालन गरेको यस भेडीगोडमा ६ सय ४० बढी भेडा रहेका छन् ।
दूधपोखरी गाउँपालिकाकाको ओखारी, साल्मे, भीरकुना र दोर्दी गाउँपालिकाको सिम्रुङ र पाचोकका गरी २५ जनाभन्दा बढी किसानले यसै घुम्ती भेठीगोठमा भेडा पाल्दै आएका छन् । यस भेडीगोडमा ४ जना भेडीगोठाला रहेका छन् ।
स्थानीय किसानले भेडीगोठमा भेडा पाल्न दिन्छन् । उत्पादन बेचेर आएको निश्चित रकम भेडीगोठालाले लिन्छन् । बाँकी रकम भेडा धनीलाई बुझाउँछन् ।
गुरुङका अनुसार दूधपोखरी गाउँपालिकामा १० वटा भेडीगोठ रहेका छन् । स्थानिय मैते गुरुङका अनुसार दूधपोखरी गाउँपालिका–६, र दोर्दी गाउँपालिका–५ का किसानहरुले संयुक्त रुपमा ‘पतिपुरे सामुदायिक भेडापालन समूह’ गठन गरी भुम्ती भेडीगोठमा भेडापालन गरेका हुन् ।
प्रकाशित मिति: बिहीबार, जेठ २, २०७६