काठमाडौँ । प्रतिनिधि सभा र प्रदेश सभाको मत गणनाको नतिजा सार्वजनिक हुने क्रम जारी रहँदा, प्रत्यक्षतर्फ नेपाली काँग्रेसले अग्रता बनाई रहेको छ । समानुपातिकतर्फ भने एमालेको अग्रता छ । अन्तिम परिणाम आइसक्दा सम्म कांग्रेस र एमालेमध्ये एक दल पहिलो र अर्को दोस्रो बन्ने देखिएको छ । मत परिणाम आउँदै गर्दा अब कुन कुन दलको सरकार बन्ला र त्यसको नेतृत्व कसले गर्ला भन्ने विषयमा पनि चर्चा हुन थालेको छ । अब बन्ने सरकारको नेतृत्वका विषयमा चर्चा चल्दै गर्दा नेपाली काँग्रेसका महामन्त्री गगन थापाले संसदीय दलको नेतामा उम्मेदवारी दिने घोषणा गरिसक्नुभएको छ । उहाँलाई अर्का महामन्त्री विश्वप्रकाश शर्माले समर्थन गर्ने बताउनुभएको छ । तर, एकातिर सरकारको नेतृत्व कांग्रेसले गर्ने नै तय भएको छैन भने पार्टीको संसदीय दलको नेतामा निर्वाचित हुन थापालाई पनि सहज देखिँदैन । प्रधानमन्त्री बन्नु अघि संसदीय दलको नेता बन्नुपर्छ । संसदीय दलको नेता हुँदै प्रधानमन्त्री बन्न थापालाई सहज देखिँदैन । यी नै विषयमा नेपाली काँग्रेसका महामन्त्री गगन थापासँग सीआईएनकर्मी राजन रुचालले कुराकानी गर्नुभएको छ ।
प्रारम्भिक मत परिणामका विषयमा तपाईँको टिप्पणी के छ ?
पार्टीको महाधिवेशन लगत्तै, नेपाली काँग्रेस पार्टीभित्र एउटा ठुलो सुधार गरौँ र नयाँ मतदातालाई आकर्षित गर्ने गरी जाऊँ, मुद्दाका हिसाबले पनि नेतृत्वको मुहारका हिसाबले पनि लैजाऔँ । हाम्रो जुन ३२ प्रतिशत मत हो, त्यसमा ५/६ प्रतिशत थप्ने गरी जाऊँ भनेर म र अर्का महामन्त्री विश्वप्रकाश शर्मालगायत साथीहरूले भनिरहेका थियौँ । त्यो बेलामा नेतृत्वलाई हाम्रो कुरा राम्ररी बुझाउन सकिए न नै भन्नुपर्यो । त्यसपछि हामी अलि रक्षात्मक भयौँ र अरू विभिन्न खालका सजिला बाटोहरू रोज्न थाल्यौँ । जसको कारणले गर्दा मतदाताको ठुलो आधार गुमायौँ कि जस्तो लागेको छ अहिलेको प्रारम्भिक नतिजा हेर्दा ।
त्यसो भए, तपाईँहरूले नेतृत्वलाई बुझाउन नसकेको कुरा मतदाताले आफ्नो मत मार्फत प्रकट गरे ?
जस्तो मैले चुनाव अगाडी नै नेतृत्वलाई पनि भनेँ र साथीहरूले आ आफ्नो क्षेत्रमा पनि भन्नुभयो । मतदाता एकदमै रिसाएका छन् । छटपटाएका छन् । देशमा जे कुरा बदलिएला र मेरो जीवनमा त्यो कुराले छोला भनेर अपेक्षा गर्दै मतदाताले लामो समय कुरेको हो । पहिले संविधान निर्माण लगायतका विषय थिए, ती कुरा मतदाताले पनि बुझ्नुभएको थियो । तर जब सबै कुरा टुङ्गियो र अब डेलिभरी हुन्छ भनेको बेलामा नहुँदाखेरि, विकल्प त जम्मा एउटा मात्र थियो । दल त त्यही नै हो तर नेतृत्व चाहिँ नयाँ आउँछ । नयाँ आउने नेतृत्वले पहिलेको जस्तै काम गर्दैन । उसको सोच्ने तरिका फरक छ । काम गर्ने तरिका फरक छ । भनेर भन्न पाएको भए, मतदाताले फेरि एक पटक मौका दिने कुरा हुन्थ्यो । ठिक छ ल, एक चोटि तिमीहरूलाई हामी हेर्छौँ भनेर भन्ने कुरा हुन्थ्यो । हामी कसरी चुनावमा गयौँ भने दल पनि पुरानै हो । हाम्रो नेता पनि पुरानै हो । हामीले पहिले गरेकै जे छ एकदम राम्रो छ, हामीले केही कुरा बदल्नु पर्ने नै छैन, हामीले जे छोयो त्यही अकबरी सुन हुन्छ भने जसरी निर्वाचनमा गएपछि मतदाता थप रिसाउनु स्वाभाविक हो । त्यही भएर हामीले चुनौती चिर्ने कोसिस गरेका हौँ । हाम्रो पार्टी भित्र कम्तीमा हामी नयाँ नेतृत्वको खोजी गर्छौँ, हामी प्रयास गर्छौँ, त्यसका लागि हामी लड्छौँ । हामी ज–जसले यो कुरा भन्यौँ । हाम्रो कुरालाई मतदाताले पत्याउनुभयो । हामीलाई हौस्याउनुभयो र ल तिमीहरू जाओ लड भनेर पठाउनुभयो ।
तपाईँ र अर्का महामन्त्री विश्वप्रकाश शर्माबिच भावी सरकार र नेतृत्वको विषयमा जसरी एक स्वर देखिएको छ, यसले अब पार्टीको संसदीय दलमा अङ्क गणित मिलाउन पनि सक्षम होला ? कि तपाईँहरूको भनाई निर्वाचन केन्द्रित मात्र हो भन्ने तर्कलाई बल पुग्ला ?
पछिल्लो कुराबाट सुरु गर्छु । सांसद भई सकियो, केही दिन पछि संसदीय दलको चुनाव लड्नु छ । लड्ला कि नलड्ला भन्ने कुराको अर्थ छैन । अब तपाईँले अङ्कगणितको कुरा गर्नुभयो । पार्टीभित्रको समीकरण हेर्दै गर्दा गणित हाम्रो पक्षमा छैन, हामीलाई थाहा छ । तर, त्यो निर्वाचित भएर आएको सांसद गणितले मात्रै बाँच्छ त ? उसले चाहिँ देशभरिको मतदाताको रुझान हेरेको छैन त ? उसलाई नेपाली काँग्रेसको भविष्यप्रति चिन्ता छैन भन्ने मान्ने हो त ? उसले पनि त हेर्छ नि । उसले पनि त बुझ्छ । यत्रो भई सक्दै गर्दा पनि अब हामीले, हाम्रो पार्टीले देशलाई नयाँ नेतृत्व दिन्छ । हामीले नयाँ किसिमले देशलाई लिएर जान्छौँ भन्न सकेनौँ भने त्यो बेलामा हाम्रो पार्टीको अस्तित्व, हाम्रो पार्टीको भविष्य कति ठुलो सङ्कटमा पर्छ भन्ने कुरा त उसले पनि त बुझेको छ नि । त्यसैले हामी गणितको कुरा गर्दै गर्दा हिजो हिजो महाधिवेशनको कुरालाई लिएर को कहाँ उभिएको थियो भन्ने मात्र कुरा हुँदैन । यो निर्वाचन पछि त ऊ पनि त नयाँ कुरा लिएर आएको छ । मतदातासँग भेटेर आएको छ । मतदाताले उसलाई पनि भनेको होला । सबभन्दा ठुलो कुरा ऊ पनि त मतदाता कहाँ फर्कनुपर्छ । फर्कनु पर्दैन र ? यो पाँच वर्ष काठमाडौँ आएर संसदीय दलको नेता छनोटमा कतातिर उभियो भन्ने कुराको उसले उत्तर दिनु पर्दैन ? मलाई चाहिँ त्यसको ठुलो भरोसा छ ।
मतदाताको आक्रोशको मत बोकेर संसद् छिर्ने नयाँ पार्टीसँग संसदीय सहकार्यको सम्भावना कति छ ? आफ्नै दलभित्र गर्नुपर्ने व्यवस्थापनको बोझ र नयाँ पार्टीसँग सहकार्यको बोझ दुवै झेल्न सक्ने सामर्थ्य तपाईँहरू दुई जना महामन्त्रीसँग छ ?
नेपाली काँग्रेस पार्टीभित्र त हामी व्यवस्थापन गर्न सकिहाल्छौँ । नयाँ जुन जुन पार्टीहरू आउनुभएको छ । संसद्को समीकरण कस्तो बन्छ भनेर हामीले हेर्नुपर्छ । त्यसको आधारमा नयाँ पार्टीसँग संवाद भई नै हाल्छ । उहाँहरू जति पनि पार्टी आइराख्नु भएको छ, उहाँहरूका आफ्ना केही मुद्दा छन् । तर ती मुद्धाहरूलाई नेपाली काँग्रेस पार्टीसँगै बसेर एउटा समझदारी कायम गरेर अघि बढ्न सकिन्छ । आखिर सुशासन, पारदर्शिता त हामी सबैको चाहना हो । त्यसमा काम गरौँ भन्ने हो । त्यसमा एउटा खालको समझदारी बनाउन सकिन्छ भन्ने मलाई विश्वास छ ।
नयाँ दलका नेताहरू पुरानो दलका पुरानै नेतृत्वसँग सहकार्य गर्न सकिन्न तर पुरानै दलका नयाँ नेतृत्वसँग सहकार्यको बारेमा सोँच्न सकिन्छ भन्दै हुनुहुन्छ, यसबारे के भन्नुहुन्छ ?
मैले पनि सबैका कुरा सुनिरहेको छु, पढिरहेको छु । तर, टु अर्लि टु कमेन्ट भन्छ नि अर्थात् टिप्पणी गर्न अहिल्यै हतार हुन्छ । हेरौँ न, अझै केही दिन प्रतिक्षा गरौँ, कसरी आउँछ मत परिणाम । हामी सबै खालको विकल्पका लागि खुला रहनुपर्छ । खाली एउटै कुरा के हो भने यो पाँच वर्ष खेर जान दिनु हुँदैन । पाँच वर्ष खेर जान नदिने कुरा, पहिलो पाँच महिनामा देखिन्छ । यो पाँच वर्ष पनि खेर जान्छ पहिलेको पाँच वर्ष जस्तै हुन्छ भन्ने आम मान्छेलाई पर्यो भने अहिले मतदान गर्न उभिएका मान्छे सडकमा आउँछन् र हाम्रो विरुद्धमा ठुलो विद्रोह हुन्छ । त्यसैले पाँच वर्ष खेर जान नदिन हामीले स्थिर सरकार पनि दिनु छ र त्यो सरकारले परिणाम पनि दिनु छ । त्यसका लागि सबै विकल्प खुला हुनुपर्छ ।
भिडिओ-
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९, १७:३०