गोरखा । भेडीगोठ र गौचरनको रूपमा प्रयोग हुँदै आएको गोरखा लाप्राकको गुप्सीपाखामा अहिले एकीकृत नमूना बस्ती बनिरहेको छ ।
लाप्राकका ५ सय ७३ घरधुरी भूकम्प प्रभावित परिवारका लागि गैरआवासीय नेपाली सङ्घले बस्ती बनाइरहेको छ । बस्ती निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
९० प्रतिशत काम सकिएको भए पनि लाप्राकबासी त्यो बस्तीमा सर्न इच्छुक देखिएका छैनन् । भूकम्पका कारण लाप्राकको बस्ती असुरक्षित रहेको विज्ञहरूको भनाइपछि लाप्राकबासीलाई स्थानान्तरण गर्न गुप्सीपाखामा नमूना बस्ती बनाईएको हो ।
भूकम्पको ४ वर्षपछि बस्ती निर्माणको काम अन्तिम चरणमा पुगेको छ । एकसय ५० नेपाली सैनिक, सय जना मजदुर र स्थानीयको श्रमदानमा बस्ती निर्माणको काम ९० प्रतिशत सकिएको छ । एउटा घर बनाउन कम्तिमा १२ लाख रुपैयाँ खर्च भएको सङ्घले जनाएको छ ।
तर लाप्राकबासी एकीकृत बस्तीमा सर्न चाहेका छैनन् । किन ? यो प्रश्नमा स्थानीय मानबहादुर गुरुङले भन्नुभयो, ‘असार साउनमा गोठ बस्ने हो । त्यहाँ व्यापार नै हुँदैन ।’ लाप्राकवासीको मुख्य काम खेती र पशुपालन हो । लाप्राकबाट एकीकृत बस्ती पुग्न कम्तिमा २ घण्टा उकालो हिड्नुपर्छ ।
जग्गाजमिन तल घर माथी हुने भएकाले पनि लाप्राकबासीले एकीकृत बस्तीमा सर्न रुचि देखाएका छैनन् । समुन्द्री सतहबाट दुई हजार ७ सय ५० मिटरको उचाइमा रहेको गुप्सीपाखामा चिसो पनि बढि हुने स्थानीय कामनी गुरुङ बताउनुहुन्छ ।
पुरानो थलोको सबै छोडेर एकीकृत बस्तीमा सर्दा आयआर्जनको समस्या हुने लाप्राकीको डर छ । जीवन यापनको समस्या त छ नै स्थानीयलाई बस्ती निर्माणकै विषयमा पनि गुनासो छ ।
स्थानीय कुमार सुनारले भन्नुभयो, ‘भनौँ भने विरोध गरेको भन्छन्, नभनौँ भने के भन्ने र । घर बनाइदिन्छु त भन्नुभयो तर घर जस्तै छैन । भनेको जस्तो घर भएन । सुरुमा उहाँहरू आएर जे भन्नुभएको थियो त्यो हिसाबको घर भएन ।’
२०५६ सालदेखि पहिरोको जोखिममा रहेको लाप्राकको बस्ती स्थानान्तरण गर्नुपर्ने छ । तर बस्तीमा घर मात्रै भएको र आफूहरूलाई जीविकोपार्जन गर्न नसकिने भन्दै स्थानीयले बस्तीप्रति रुचि देखाएका छैनन् ।
पहिले नै पर्याप्त अध्ययन नगरिएका कारण ६८ करोडभन्दा बढी खर्च गरेर निर्माण गरिएको बस्ती प्रयोगविहीन हुने हो कि भन्ने चिन्ता बढेको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ ३, २०७६, १५:१९