काठमाडौँ । विश्वकप फुटबलमा आज (शनिवार) चार वटा खेल हुँदै छन् । आज समूह सी र डीका दुई दुई वटा खेल हुन लागेका हुन् ।
आजको पहिलो खेलमा खेलमा ट्युनिसिया र अस्ट्रेलिया खेल्नेछन् । यो खेल दिउँसो पौने ४ बजे सुरु हुनेछ । दुवै देश पहिलो जितको खोजीमा छन् । यसअघि ट्युनिसियाले पहिलो खेलमा बराबरी खेलेको थियो भने अस्ट्रेलिया पराजित भएको थियो ।
आजको दोस्रो खेलमा पोल्यान्ड र साउदी अरेबिया खेल्नेछन् । यो खेल बेलुकी पौने ७ बजेपछि सुरु हुनेछ । पहिलो खेलमा अर्जेन्टिनालाई हराएर हौसिएको साउदी आज पनि जित हात पार्दै विश्वकपको अर्को चरण प्रवेश गर्न चाहन्छ । पोल्यान्डले भने पहिलो खेल बराबरी खेलेको थियो । आजको तेस्रो खेलमा फ्रान्स र डेनमार्क खेल्नेछन् । यो खेल राति पौने १० बजे सुरु हुनेछ ।
फ्रान्स लगातार दोस्रो जित हात पार्ने योजनामा रहँदा डेनमार्क पहिलो जितको खोजीमा हुनेछ ।
आज मध्यराती हुने खेलमा अर्जेन्टिना मेक्सिकोसँग खेल्दै छ। मध्य राती पौने १ बजेपछि सुरु हुने यो खेल अर्जेन्टिनाका लागि धेरै नै महत्त्वपूर्ण छ । आज पनि पराजित भए अर्जेन्टिना समूह चरणबाटै घर फर्किने छ । विजयी भए अघिल्लो चरण प्रवेशको सम्भावना कायमै रहनेछ ।
विश्व प्रसिद्ध फुटबलर लियोनेल मेस्सीको अन्तिम विश्वकप भएका कारण पनि यस पटक विश्वकप जितेरै फर्कने लक्ष्यका साथ कतार पुगेको अर्जेन्टिनाले पहिलो खेलमा त्यस अनुसारको खेल प्रदर्शन गर्न सकेन । जसका कारण तुलनात्मक रूपमा कमजोर मानिएको साउदी सँग २–१ ले पराजय बेहोर्यो ।
पेनाल्टीमार्फत मेस्सीले गरेको गोलमा अग्रता लिएपनि अर्जेन्टिनाले त्यसलाई जोगाउन सकेन र दोस्रो हाफको पाँच मिनेटमा दुई गोल खाँदै तीन अङ्क जोड्नबाट वञ्चित भयो । आज पराजित भए विश्वकप उचाल्ने मेस्सीको सपनामा सम्भवत: पूर्णविराम लाग्नेछ ।
प्रकाशित मिति: शनिबार, मंसिर १०, २०७९, १३:४१